राजेशको बानेश्वरस्थित घरमा आगोलागी, कति भयो क्षति ?

✍ प्रदिप ढकाल    1 year ago

काठमाडौं । राई ईज किङ अर्थात चर्चित गायक राजेश पायल राईको नयाँ बानेश्वरस्थित घरमा आज साँझ आगोलागी भएको छ । आगोलागीबाट राईले जीवनमा आर्जन गरेका सयौं मायाको चिनोहरु जलेर नष्ट हुन पुगेको छ ।


कति क्षति भयो भन्ने एकिन विवरण प्राप्त हुन सकेको छैन । राई हाल बेलायतमा छन् । महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरले कात्यानीचोक नजिकै नगेन्द्रकान्ता चोकमा पर्ने राजेश पायल राईको घरमा लागेको आगो नियन्त्रणमा लिइसकेको जनाएको छ। क्षतिको विवरण तयार गर्न बाँकी छ ।

अपरान्ह चार बजेको समयमा आगो लागेको एक स्थानीय प्रत्यक्षदर्शीले बताए । आगोलागीबाट सयौंको संख्यामा मायाको चिनो तथा सम्मानपत्रहरु नष्ट भएका छन् । राईले गायन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै देश विदेशबाट पठाएका सयौं मायाको चिनोहरु जलेर खरानी हुन पुगेका छन् ।

उक्त घरको बीमा गरेको छ वा छैन भन्ने कुरा खुल्न बाँकी छ । राईको घरमा हेर्ने एक जना युवा मात्रै थिए । उनी पनि बाहिर भएको बेलामा आगो लागेको बताइएको छ । घटनामा कुनै मानवीय क्षति भएको छैन ।