बयानमा के भनेका छन् पत्रकार युवराज कँडेलले : शालिकराम पुडासैनी आत्महत्या प्रकरण

✍ प्रदिप ढकाल    1 year ago

काठमाडौँ — न्युज २४ बाट प्रसारण हुने कार्यक्रम ‘सिधा कुरा जनतासँग’ का सञ्चालक रवि लामिछानेसँग कार्यरत पत्रकार युवराज कँडेलले आफूले कहिल्यै मृतक पत्रकार शालिकरामलाई दुःख नदिएको बताएका छन् ।


बयानका क्रममा उनले भनेका छन्, ‘भिडियोमा भने जस्तो मैले कुनै दुःख दिएको छैन। निजले ल्याएका समाचारका टिपोटहरुलाई कहिलेकाहीँ निकाल्ने र थप्ने हुन्थ्यो। सोही कुरामा निजले मसँग चित्त दुःखाएको हुनुपर्छ। सो बाहेक अन्य केही कारण छैन।’ बयानका क्रममा युवराजले शालिकराम विवाहित भएको र श्रीमती सम्झनासँग नयाँ बसपार्कतिर बस्छन् भन्ने बाहेक निजको बारेका अन्य केही पनि थाह नभएको बताएका छन्।

युवराजले आत्महत्या भन्दा दुई वा तीन दिन पहिले कार्यक्रम निर्माता दिपक बोहोरा र कार्यक्रम सञ्चालक रवि लामिछाने र न्युज २४ का अन्य कर्मचारीहरु समेत भएका बेला क्यामेरामेन अनिल ढुंगलेले मृतक शालिकराम पुडासैनीको प्रेमीकासँग सम्बन्ध बिग्रिएको गुनासो गरेको कुरा सुनाएको बताएका छन्। सोही कुराकानीमा त्यस्तो छ भने प्रहरीकोमा जानु भनेर दिपक बोहोराले भनेका थिए।