स्मार्ट सिटीका स्मार्ट लामखुट्टे

✍ प्रदिप ढकाल    1 year ago

काठमाडौंलाई ‘स्मार्ट सिटी’ बनाउने योजना कहिले पूरा होला थाहा छैन, यहाँका लामखुट्टे भने ‘स्मार्ट’ भइसके।केही समययता काठमाडौंमा भिन्नै प्रकृतिका लामखुट्टे देखिन थालेका छन्, जसको आनीबानी र आकारप्रकार पहिलेको जस्तो छैन।


यी लामखुट्टे राति आउँदैनन्। दिउँसो सक्रिय हुन्छन्। झुल टाँगेर, धूप बालेर टोकाइबाट बचुँला भन्ने छैन।हामी काममा सक्रिय हुँदा यिनीहरू पनि सक्रिय हुन्छन्। यो बेला लामखुट्टेको आवाज सुनिन्न। आकार यति सानो हुन्छ, झट्ट देखिँदा पनि देखिँदैन। पहिलेका लामखुट्टे प्याट्ट मार्दा पिच्च रगत आउँथ्यो। त्यो हाम्रो शरीरबाट चुसिएको रगत हो। यी लामखुट्टे मार्दा रगत आउँदैन। कालो, फुस्रो धूलोजस्तो देखिन्छ।

हामी बस्दाबस्दै शरीरमा चिलाएजस्तो हुन्छ। हेर्दा मसिनो बिबिरा आइसक्छ। त्यो बिबिरा विस्तारै शरीरका अरू भागमा फैलिन्छ। केही बेर नराम्ररी चिलाउँछ। कहिलेकाहीँ बिबिरा बढेर ठूल्ठूला फोका पर्छन्। यस्तो भयो भने सम्झनुस्, तपाईं ‘स्मार्ट’ लामखुट्टेको टोकाइमा पर्नुभयो। ‘यो नयाँ खालको लामखुट्टेको टोकाइ हो। काठमाडौंमा अचेल यस्तो खुब पाइन थालेको छ,’ घरको आँगनभरि बगैंचा र पानी जमेको ठाउँ वरिपरि बढी भेटिन्छ।’