सँगै खाजा खाने पनि थुनामा

✍ प्रदिप ढकाल    1 year ago

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूसको कारोबार गर्नेहरूसँग खाजा खाएका दुई प्रहरीलाई समेत भ्रष्टाचार आरोपमा छानबिन गरेको छ । सवारी दुर्घटनाको प्रहरी प्रतिवेदन बनाइदिने बहानामा घूस माग्न गएका दुई प्रहरीका साथमा अन्य दुई जना पनि सामेल थिए । उनीहरू खाजा खाँदै गर्दा समातिएका हुन् ।


घूसको लेनदेन हुँदा घटनास्थलबाट चार जनालाई नियन्त्रणमा लिइएको थियो,’ अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले भने, ‘पछि अनुसन्धान हुँदा दुई जना प्रत्यक्ष सामेल नभएकाले मतियार भएको भेटियो । अनुसन्धानमा सहयोग गरेको हुनाले उनीहरूलाई सजायको मागदाबी नगरी मुद्दा दायर भएको हो ।’

अख्तियारले महानगरीय ट्राफिक प्रहरी नयाँ बसपार्कका जवान देवेन्द्र बलायर, आकाश खनाल, नीरज भण्डारी र हिटलर साउदलाई एक लाख घूससहित पक्राउ गरेको थियो । तीमध्येका आकाश खनाल र नीरज भण्डारीले घूस लिएको नभेटिएको तर घूस खानेको मतियार देखिएको निष्कर्ष निकाल्दै अख्तियारले अनुसन्धानमा सहयोग गरेकाले मुद्दा नचलाई सजाय मागदाबीमा छुट दिइएको जनाएको हो । अनुसन्धान अवधिभर भने उनीहरू थुनामा परेका थिए ।

कान्तिपुर दैनिकबाट,