प्रधानन्यायाधीशको पहिलो दिन : जिल्ला अदालतमा छड्केदेखि जनकपुरमा पोखरेलको सरुवासम्म

✍ बिप्लब पोख्रेल    2 years ago



काठमाडौँ — न्यायपरिषदले जिल्ला अदालत ललितपुरमा छड्के निरीक्षण गरेको छ । परिषदको बिहीबारको बैठकद्वारा गठित ‘सुक्ष्म अनुगमन, निगरानी र गुनासा उपर जाँचबुझ समिति’ले अनुगमनपछि न्यायाधीश, कर्मचारी, कानून व्यवसायी, सेवाग्राहीसँग कुराकानी गरी कतिपय विषयमा सोधपुछसमेत गरेको थियो । न्यायपरिषद सचिव नृपध्वज निरौलाको नेतृत्वमा गएको टोलीले सरोकारवालाहरुको गुनासोसमेत संकलन गरेको सर्वोच्च अदालतले जनाएको छ। परिषदले विहीवार नै समिति गठन गरी समितिलाई ‘न्यायाधीश उपर आउने गुनासा, टिकाटिप्पणीका बारेमा तत्काल सम्बोधन गर्ने गरी अनुगमन, निरिक्षण र गुप्त निगरानी गराउने’ निर्णय गरेको थियो।

संवैधानिक इजलास पुनर्गठन
न्यायपरिषदले संवैधानिक इजलासको पुनर्गठन गरेको छ। प्रधानन्याायधीशमा पदभार ग्रहण गरेको भोलीपल्ट न्यायपरिषदका अध्यक्ष समेत रहेका चोलेन्द्रशम्सेर जवराले न्यायपरिषदको बैठकबाट दीपकराज जोशीलाई संवैधानिक इजलासबाट हटाएका छन्। परिषदले उनी र अपकाश पाएका ओमप्रकाश मिश्रको ठाउँमा मीरा खड्का र हरिकृष्ण कार्कीलाई सिफारिस गरेको छ।
न्यायपरिषदले मेलमिलाप परिषदको अध्यक्ष रहेका दीपकराज जोशीलाई हटाएर उनको ठाउँमा न्यायाधीश इश्वरप्रसाद खतिवडालाई तोकेको छ। त्यसैगरी वरिष्ठतम् न्यायाधिश बस्ने १ नम्बर इजलासको चेम्बरबाट जोशीलाई हटाएर उनको ठाउँमा दीपककुमार कार्कीलाई व्यवस्था मिलाइएको छ। जोशीलाई सर्वोच्च अदालतकै अर्को कोठा व्यवस्था गरिएको स्रोतले बतायो।
परिषदले उच्च अदालत जनकपुरमा पछिल्लो समय ‘बेथिती देखिएको’ निष्कर्ष निकाल्दै त्यसको नियन्त्रणका लागि उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिकुमार पोखरेललाई जनकपुरमा सरुवा गरेको छ। उच्च अदालतको रिक्त मुख्य न्यायाधीशमा वरिष्ठता, सक्षमता र कार्यकुशलताको आधारमा सुक्ष्मलता माथेमालाई नियुक्त गरी सुर्खेत खटाएको पनि सर्वोच्च अदालतले जनाएको छ।