होटेल व्यवसायी बेपत्ता

✍ बिप्लब पोख्रेल    2 years ago


भैरहवा — यहाँका एक होटेल व्यवसायी मंगलबारदेखि बेपत्ता भएका छन् । उनी अपरहणमा परेको आशंका परिवारजनले गरेको छ । सिद्धार्थनगर नगरपालिका ७ स्थित आवारोडमा ‘आसाम होटेल एण्ड खाजा घर’ संचालन गर्ने ५५ वर्षीय रत्नमान कुँवर मंगलबार बिहानदेखि लापत्ता भएका हुन् ।

उनी बिहान ९ बजेतिर मर्मत गर्न दिएको मिक्चर ल्याउन भन्दै घरबाट निस्केका थिए।
उनका कान्छो छोरा रञ्जन कुँवरले राति १ बजेर २० मिनेटमा बुवाको मोबाइलबाट मिसकल आएपछि कलब्याक गर्दा बुवाले आफूलाई कसैले पट्टी लगाएर ल्याएर घना जंगलको बीचमा छाडेको बताएको जनाए। उनका अनुसार, मुस्किलले ५० सेकेण्डसम्म कुरा भएपछि मोबाइल अफ भएको थियो। राति २ बजेतिर पुन: उनले श्रीमतीलाई पनि फोन गरेर त्यही कुरा दोहोऱ्याएका थिए। उनले रुँदै आफू अपहरणमा परेको बताएका थिए।
रुपन्देहीका एसपी हृदय थापाले उनी आफैं लापत्ता भएका हुन् वा अपहरणमा परेको हो? भन्ने बारेमा अनुसन्धान र खनतलासी सुरु गरेको बताए। उनले प्रयोग गरेको मोबाइलको लोकेसन सिराहा जिल्लामा देखाएको र जतताततै समबन्धित निकायमा पत्राचार गरि खोजी गरिएको थापाले जनाए।