पर्यटन बढायो बाघले

✍ बिप्लब पोख्रेल    1 year ago

गतवर्ष २६ हजारले घुमे बर्दिया राष्ट्रिय निकुञ्ज

बर्दिया — सजिलै बाघ देखिने भएकाले बर्दिया राष्ट्रिय निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटकको संख्या बढिरहेको छ । निकुञ्जका अनुसार गत वर्ष २६ हजार पर्यटक भ्रमणमा आएका थिए । अधिकांश पर्यटक पाटे बाघ हेर्न आएका हुन् ।


सबैभन्दा बढी चैत र वैशाखमा विदेशी पर्यटक आएका थिए । प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बर्दिया निकुञ्जले अन्तर्राष्ट्रियस्तरमा बाघ गन्तव्यको पहिचान बनाइसकेको बताए । बाघको संख्या ८७ पुगेपछि निकुञ्ज घुम्न आउने सबैजसो पर्यटकले सहजै देख्न पाउन थालेका छन् । ‘बाघ गन्तव्यका रूपमा बर्दियाको प्रचार भइरहेको छ,’ उनले भने, ‘जसका कारण पर्यटक बढेका हुन् ।’ पाहुना आउन थालेपछि होटल तथा रिसोर्ट खुलेका छन् । स्थानीयले पनि वन्यजन्तुसंरक्षणमा जोड दिएका छन् ।

कर्मचारी, संरक्षणकर्मी र व्यवसायीले आइतबार यहाँ अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने क्रममा पाटे बाघले यहाँको पर्यटन क्षेत्रमा पुर्‍याएको लाभबारे चर्चा गरेका थिए । प्रमुख संरक्षण अधिकृत बरालले पाटे बाघका कारण विश्वभरि ख्याति कमाएको जानकारी दिए । यसपालि बर्दिया भ्रमण वर्ष ०७६ सञ्चालन गरिएकाले पनि पर्यटक बढेको व्यवसायीले बताए ।

पर्या–पर्यटन विकास समिति अध्यक्ष मोहन चौधरीले गर्मी सिजनमा बाघ हेर्न विदेशी आउने गरेको बताए । यहाँबाट बाघ देखेर फर्केकाले आफ्नो मुलुकमा निकुञ्जबारे प्रचार गर्दै आएको उनले सुनाए । ‘बाघ हेर्नैका लागि धेरै पर्यटक आए । यसले बाघ पर्यटनको सन्देश दिएको छ,’ उनले भने । चौधरीका अनुसार निकुञ्जमा बाघ, गैंडा रहात्ती सहजै देख्न सकिन्छ ।

निकुञ्जमा ४/४ वर्षमा बाघ गणना हुने गरेको छ । निकुञ्ज तथा वन्यजन्तु विभाग, विश्व वन्यजन्तु संरक्षण कोष, प्रकृति संरक्षण कोष, नेपाली सेना र चोरीसिकार नियन्त्रण युवा सञ्जालको सहभागितामा प्राविधिक टोलीले क्यामेरा ट्र्यापिङको सहयोगमा गणना गरिन्छ । निकुञ्जबाहेक खाता जैविक मार्ग, आसपासका क्षेत्र र कैलालीको छतिवन क्षेत्रबाटबाघको गणना गरिएको थियो ।

चोरी सिकार नियन्त्रणपछि बाघको संख्या बढेको हो । प्रशस्त आहारा प्रजाति, सुरक्षा र प्राकृतिक बासस्थान भएकाले दुर्लभ पाटे बाघको संख्या बढ्दै गएको र दुई वर्षयता एक दर्जन बाघ थपिएको प्रमुख संरक्षण अधिकृत बरालले बताए । सन् २०१३ को गणनाअनुसार निकुञ्जमा ३५ देखि ५० बाघ थिए ।

निकुञ्ज घुम्न विदेशी पर्यटकलाई १ हजार ५ सय, सार्क मुलुकका लागि ७ सय ५० र स्वदेशीलाई १ सय रुपैयाँ शुल्क तोकिएको छ । जिप प्रवेशका लागि ३ हजार शुल्क छ । हात्ती सफारीमा विदेशीलाई २ हजार ५ सय, सार्कका लागि १ हजार ५ सय र स्वदेशीलाई ५ सय रुपैयाँ शुल्क तोकिएको छ ।प्रकाशित : श्रावण १४, २०७६ ०७:१२