राष्द्रसेवक दृष्टि:- नेपालको सार्वजनिक प्रशासन तथा सुशासन भाग ५

✍ प्रदिप ढकाल    1 year ago

*पाचौँ भाग कुराकानी
ढकाल ः नेपालको सार्वजनिक सेवा संयन्त्र र नेतृत्वप्रति नै घृणा, अविश्वास र कटु आलोचनासाथ आक्रोश व्यक्त गरिरह्दा निजामती सेवामा आफूले बिताएको जीवनभरको आफ्नै सेवासमूहको अपमान ठान्नु हुन्न ?


पोखरेल ः नेपालको सार्वजनिक सेवाको क्षेत्रमा २०४४ सालदेखि निरन्तर कार्यरत छु । सुर्खेतको पुरानो गा.वि.स गर्पन मेहलीस्थित आदर्श मा. वि. मेरो जागीरको प्रारम्भिक थलो हो । म सेवामा प्रवेश गरेको एक वर्ष नहुँदै यो विद्यालयको मावि तहको पठनपाठन आर्थिक स्रोतको अभावमा बन्द नै भएको थियो । २०४५ पुषदेखि नयाँ शैक्षिक सत्र शुरु भएपनि कक्षा ८ देखि नै माघसम्म कुनै बालबालिका भर्ना भएका थिएनन् । सबै वीरेन्द्रनगरतिर झर्ने वा पढाइ छाडेर त्यसै बस्ने अवस्थामा पुगेका थिए । यसले मेरो मनलाई धरधरी रुवायो । पुराना प्रधानाध्यापक मित्रनाथ झाले आफूले उक्त विद्यालयको नेतृत्व छाडी सकेका थिए । अनि २०४५ माघ १७ गते म आफू प्रधानाध्यापक बनेँ र बन्द भएको विद्यालयलाई निरन्तरता दिने अठोटमा पुगैँ । फलतः गाउँठाउँका सबै जनतासंग पुग्ने, नगद वा वस्तुको चन्दा उठाउने अभियान थाल्दा सर्वप्रथम आफैँले बीसौँ हजारको चन्दा दिने र मा.वि. शिक्षकको तलबभत्तामा प्रधानाध्यापकको काम शुरु गरेको घोषणा र कार्यान्वनयमा उतारेर सबैलाई विश्वासमा पारेर थालेको सामाजिक अभियानको कार्य आजका मितिसम्म पनि कुनै न कुनै रुपमा कार्यव्यवहारमा उतार्ने क्रम जारी छ ।
२०४४ असौजदेखि २०५३ कार्तिकसम्म करीब ९ वर्षको शिक्षण पेसामा रह्दा मेहली, साटाखानीको चौरासे, सहारे तथा इत्रामको माविमा काम गरी सकारात्मक पक्ष, पञ्चायती र प्रारम्भकालीन राजनैतिक हस्तक्षेपका चित्र तथा सामाजिक सुधारका सिकाइका धेरै पक्षका विभिन्न अनुभवहरुसहित नेपालको निजामती सेवामा प्रवेश गरेको हुँ । मलाई लाग्छ, शिक्षक कालमा ममा जुन उर्जा र सहास थियो, आज पनि सो भावना यथावत बोकी रहेको छु । तर निजामती चरित्रले कर्मचारीमा स्वाभीमान र यर्थाथतालाई स्वीकार्न सक्दो रहेनछ, जीहजुरी, चाकरी र उपहारलाई उच्च मूल्यमा राख्दो रहेछ त्यो संस्कार नहुँदा जीवनभर हाकिम र अगुवाको प्रिय हुन नसकेको पात्र पनि हुँ । शिक्षक कालीन स्वाभीमानको संघर्ष निजामतीमा प्रवेश गरेको एकवर्ष पनि स्थीर हुन वा बनाउन सकिएन । त्यसपछिका सबै वर्ष र दिनहरु जागीरका लागि मात्र भए र जनता र देशका लागि केही गर्न संयन्त्र र अगुवाले सहयोग गरेनन् भन्ने मेरो तितो अनुभव रहेको छ ।
विषय सन्दर्भमा भन्नुपर्दा २०५३ कार्तिक २२ देखि म निजामती सेवाको शिक्षा सेवामा प्रवेश गरेको हुँ । सो समयदेखि नै घरपरिवार, इष्टमित्र, समाजबाट धेरै टाढा रहेर सरकारको काम गर्दै आएको छु । मेरो बुद्धि विवेक र क्षमताले भ्याएसम्म पेसागत आचरण, पदीय मर्यादा र जन सेवामा विश्वास र गुणस्तर अभिवृद्धिको चिन्तनमा आफूलाई दिनरात खटाएको र समर्पित रहेको छु । जस्तै ः

१. अर्घाखाँची जिल्लामा १४ महिना सेवारत रह्दा त्यति बेला गाउँगाउँ यातायात सुविधा पुगेको थिएन तापनि १६२ साना ठूला विद्यालयको स्थलगत भ्रमण गरी सक्दो अनुगमन पनि गरेको छु । ती विद्यालयका राम्रा सिकाइ पक्ष सिक्नुका साथै कतिपय विद्यालयमा देखिएका मानवीय र आर्थिक अनियमितता, खेताला शिक्षक राख्ने प्रथा तथा पेसागत अनुशासनहीनतालाई पहिचान गरी खेताला शिक्षकको रोगलाई प्रशासनिक तवरले रोक्न गरिएका प्रयास कम चुनौतीपूर्ण भएनन । जसका कारण अनाहकमा सरुवाको शिकार भइयो तर चाहेको काम गर्न सकिएन ।

२. फलतः गुल्मीको ६ वर्ष ४ महिनाको जागीरे काल अनियमितता र भ्रष्टाचारजन्य प्रशासनिक पक्षको खोजीमा केन्द्रित नगरी राम्रा शिक्षक र विद्यालयहरुलाई प्रोतसाहन गर्नमा बित्यो । स्थलगत शैक्षिक पक्षको धेरै खोज, अनुसन्धान र सकारात्मक सिकाइ पक्षको संकलन र लेखनमा बित्यो, साँच्चैँ भन्नु पर्दा आज मेरो जे जुन पहिचान र हैसियत बनेको छ, त्यसको श्रेय गुल्मीले नै पाउँछ ।
गुल्मी जिल्लाको समग्र शैक्षिक क्षेत्रको स्थलगत भ्रमण, सबै किसिमका सरोकारवालाका विचार सुन्ने, संकलन गर्ने तथा तिनलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ ? अथक प्रयास र त्यसको वातावरण बनाउने खटाइ नै अविस्मरणीय योगदान ठान्दछु । शैक्षिक पेसागत क्षमता विकास तथा शिक्षकको कक्षा सिकाइ उन्नयनका लागि विद्यालय विद्यालयमा गरिएका अथक परिश्रमपूर्ण स्थलगत पैदल भ्रमण, स्थानीय आवश्यकता खोज र पहिचान तथा सिकाइमूलक कार्यशैलीको अवलम्बन तथा सम्झौताहिन कार्यसम्पादनले आफूलाई दह्रो बनाएको स्मरण गर्दछु ।
के गरिएन शैक्षिक सुधार अभियानका लागि गुल्मी जिल्लामा ? भन्ने पनि लाग्दछ , विद्यालय निरीक्षण क्षेत्रका सबै जनप्रतिनिधिहरु, पार्टीका अगुवाहरु, विद्यालय व्यवस्थापकहरु, विद्यालयका शिक्षकहरु, सबै कक्षा विशेष गरी कक्षा ६ देखि १२ का विद्यार्थीहरुसंगको निरन्तर अन्तरक्रिया, कक्षा अवलोकन र पेसागत सहकार्य, तालिम, प्रशिक्षणले आफूलाई सबल पार्ने कार्य पनि गरियो । निरीक्षण क्षेत्रका दीर्घसेवी शिक्षक तथा विद्यालय व्यवस्थापकहरुको सामाजिक अभिनन्दन गर्न व्यक्तिगत प्रयासको अभियान कम रोचक रहेन । विभिन्न बाधा व्यवधान खडा गरिए तर निरास नभई थप हौसलासाथ अगाडि बढ्ने आत्मबल कर्मले प्रदान ग¥यो ।
त्यसरी नै निरीक्षण क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरुबीचको कक्षागत क्षमता जाँच्ने र प्रोत्साहित गर्ने विधि त झनै प्रभावकारी र सिकाइमूलक रह्यो । राष्द्रिय शैक्षिक संगोष्ठीको कल्पना गरी वैयक्तिक प्रयासलाई संस्थागत रुप दिएर ३ दिने कार्य अवधिका देशका मूर्धन्य व्यक्तित्वका ५ ओटा कार्यपत्र प्रस्तुत गर्न शिक्षाविदहरुलाई गुल्मीमा लैजान सकियो । संगोष्ठीमा प्रस्तुत कार्यपत्र र छलफलका विषय समावेश गरेर प्रतिवेदन छापेर सार्वजनिक गर्न पनि सफल भइयो । भलै, तत्कालीन शिक्षा कार्यालयको नेतृत्वको कर्मचारीतन्त्रले शैक्षिक संगोष्ठीको कोषको परिचालन गरी आपूm खुशी आर्थिक लाभ लिन नसकेको झोकमा मेरो २२ हजारको भुक्तानी नदिएर खाएको तितो अनुभव छ । तर पनि त्यस अवधि पछिका समयमा पनि गुल्मीमा दर्जनौँ नवीन अभ्यास र सिर्जनात्मक कार्यहरुले निरन्तरता पाए । आफूले सक्दो रुपमा शैक्षिक पेसागत कार्य र सामाजिक जागरणका कार्यहरु सम्पादन गरी गुल्मीबाट बाहिरिएको हुँ आज पनि मलाई गुल्मीका बुद्धिजीविहरु सम्झना गर्नु हुन्छ, जसले गर्दा जीवनको महत्वबोध गर्दछु ।

३. व्यक्तिगत रुपमा अर्घाखाँची र गुल्मीबाट सरकारी गोष्ठी, तालिम आदि वा भ्रमण, अध्ययन जस्ता कुनै अवसर नपाएको भएपनि २०६१ साल असारमा कपिलवस्तु सरुवा भएपछिको अवधिमा यी सबै अवसर मलाई प्राप्त भएको ठान्दछु । यो जिल्लाको ३८ महिने जागीरे काल वैयक्तिक पेसागत उन्नयन र आर्थिक आयार्जनका लागि साँच्चै अति महत्वपूर्ण हुन पुग्यो । सरकार तथा गैर सरकारी संघसंस्थाको समन्वय र सहकार्यमा धेरै पेसागत कार्यमा सहभागी हुने र बुटवलमा घरको जग हाल्ने अवसरसमेत यही बेलामा जुट्यो ।
यो जिल्लाको बसाइ र सहयोगी विद्यालय र शिक्षकहरुको सहकार्यमा नेपाल र भारतका सिमा क्षेत्रका शैक्षिक अवस्था पहिचान गरी समानता र भिन्नताहरुको अध्ययन गर्ने अवसर पनि पाएँ । दुवै देशका सिमा क्षेत्रका शैक्षिक यथार्थता पहिचान गरी नेपालले के सिक्नु र गर्नुपर्ने भन्ने ज्ञान हासिल गर्ने ठूलो अवसर पनि प्राप्त भयो । साथै, नेपालको तराई मधेशको भूगोल, जातजाति, भाषाभाषी, संस्कृति, रितिरिवाजसित परिचित हुने मौका पाएँ । कपिलवस्तु जिल्लाको सामाजिक तथा आर्थिक पक्षमा शैक्षिक सुधारका के के योजना र कार्यक्रम कुन कुन पक्षमा हुन सक्छन् भन्ने अध्ययनमा नै धेरै बित्यो ।
मधेशी समुदायका जनताहरु जमिनदारी प्रथा, आर्थिक, सामाजिक विभेद र जातीय शोषणका अवस्थाका बीचमा कसरी जीवन बिताइरहेका छन् ? नजिकबाट छाम्ने, जनताका बीचमा बसेर अन्तरक्रिया गर्ने र के गर्दा न्यायको वातावरण कायम गर्न सकिन्छ ? सोसमेत सुझाव लिने मौका पनि पाइयो । साथै, मधेशका विपन्न क्षेत्रका जनताका शैक्षिक समस्याहरु, विद्यालय पहुँच अभिवृद्धिका लागि गर्नुपर्ने कार्य र सिकाइमा गुणस्तर कायम गर्ने धेरै अभियानमा धेरै नै समय पनि खर्चियो । लाग्दछ, २४ सैँ घण्टा दिन भएपनि समय नपुग्ने झैँ गरी काम गरियो ।
त्यसरी नै वैयक्तिक आफ्नै प्रयासमा कपिलवस्तु जिल्लामा के कति मदरसाहरु सञ्चालित छन् र कुन कुनै हैसियतको अवस्थामा शिक्षा प्रदान गरिहेका छन् ? यी संस्थाहरुमा के कस्तो शिक्षा उपलब्ध गराइन्छ ? भन्ने विस्तृत अध्ययन गरी लिखित रिपोर्ट तयार पारी कार्यालयमा राख्न पनि सफल भएको हुँ भन्ने लाग्दछ ।
यसरी साँच्चो रुपमा भन्दा शिक्षा सेवाको जागीरे अवधिमा पहिलोपटक पेसागत सन्तुष्टि हुने गरी प्रशस्त अवसर, कार्य जिम्मेवारी र विभिन्न तालिम, गोष्ठीमा सहभागी हुने मौका पनि कपिलवस्तु जिल्लाबाट नै प्राप्त भएको ठान्दछु । नागरिकता वितरण अभियान २०६३ मा सहभागी भएको र नेतृत्वकर्ताको हैसियतले देशको राजनीतिक, प्रशासनिक अवस्थालाई नजिकबाट नियाल्ने मौका पनि यही जिल्लाबाट हासिल गरेको हुँ । देशका जनताको अवस्था र कर्मचारी संयन्त्रको कार्यशैली र मानसिकता पनि राम्ररी पढ्ने, बुझ्ने अवसर नागरिकता वितरण अभियानले राम्रै गरी दिएको हो र नेपालको अवस्था के छ ? सो पनि मनमा संगालियो ।
२०६१ सालको माघ १६ मा सात प्रादेशिक संरचनासहितको नयाँ नेपाल ‘ लोकतान्त्रिक राज्यसंरचनाका आधारभूत सूत्रहरु’ नामक पुस्तक प्रकाशन गर्न सकियो । वैयक्तिक जीवनका घटना र अनुभवमा आधारित रही लेखिएको यो पुस्तक नै मलाई नेपाली समाज र बौद्धिक जगतमा स्थापित गर्ने एक आधारस्तम्भ हो भन्ने कुरामा गर्वको अनुभव गर्दछु । यसरी सबै पक्षमा सन्तुष्ट र कार्यमा उत्साहसाथ भए पनि शिक्षा क्षेत्रका प्रशासनिक समस्या र कुशासनका विरुद्ध कपिलवस्तुबाटै सामाजिक र प्राकृतिक न्यायको पक्षमा अभियान थाल्दै २०६४ श्रावणमा काठमाण्डौँ भित्रिएको हुँ ।

४. काठमाण्डौँको जागीरे काल चाहिँ २०६४ श्रावणदेखिको हो । शिक्षा सेवालाई मर्यादित, शिक्षा सेवाका शाखा अधिकृत र विद्यालय निरीक्षकबीचको दूरी वा अवसरमा देखिने खाडल कम गर्न व्यक्तिगत र सामूहिक रुपमा ठूलो प्रयास पनि गरियो । समानता कायम गर्ने नीतिगत र कानुनी प्रावधानका लागि सचिव, मन्त्री सबैको सहमति लिएर परिवर्तनका लागि विभिन्न विकल्पका अभ्यासहरु प्रस्तुत गरिए । यद्यपि सबै कार्यमा सकारात्मक नतिजा निकाल्न सकिँदो रहेनछ र सत्ता, शक्ति र साधनस्रोतमा डुबुल्की मारिरहेका लोभीपापीहरुको समूहले मन्त्री सकारात्मक हुँदाहुँदै पनि सामाजिक र प्राकृतिक न्यायको त्यो अभियानको कार्यलाई तुहाइदिए भनौँ वा खलनायकको भूमिका खेलेर निष्प्रभावी बनाए ।
यस घटनापछि अत्यन्त दु ः ख लाग्यो र सामूहिकताको अभियानलाई तिलान्जली दिएर एक्लो रुपमा आफूले सक्ने गरी शिक्षा सेवालाई गुणात्मक प्रतिस्पर्धी र समयसापेक्ष बनाउने अभियानमा निरन्तर लागिरहेँ । राज्यका नीति निर्माता समक्ष विभिन्न विकल्प दिने, बहस गर्ने, गराउने जस्ता कार्यहरु सेवा प्रवेश कालदेखि आजका मितिसम्म निरन्तर गर्दै नै आइरहेको छु ।

५. पहिलो चरणको काठमाण्डौँको ६ वर्ष ५ महिनाको कार्यकालमा आफूलाई दिइएको पेसागत कार्य, जिम्मेवारी इमान्दारिता र विवेकसम्मत रुपमा पूरा गर्दैँ नै आएँ भन्ने मेरो विश्वास छ । यसका अतिरिक्त समयको सदुपयोग गरी प्रशासन तथा शिक्षा विषय सम्बद्ध विश्लेषणात्मक तथा समालोचनात्मक आधा दर्जन पुस्तकहरु २०७० श्रावण २२ गते विमोचन गराएर जनतासमक्ष पस्किन पनि सफल भएँ । प्रकाशित पुस्तकहरुको नामावली
१. नेपालको शैक्षिक व्यवस्थापन ः सङ्गति, विसङ्ति
२. नेपाली शैक्षिक प्रणालीका स्वरुपहरु ः व्यावहारिक विश्लेषण
३. शिक्षा दर्शन र सामाजिक रुपान्तरणका मुद्दा
४. शिक्षण पेसा र निरीक्षण व्यवस्थापनका चुनौतीहरु
५. नेपालको सार्वजनिक प्रशासन ः व्यावहारिक विश्लेषण
६. शैक्षिक गुणात्कता अन्तरवस्तुहरुको विश्लेषण ( अप्रकाशित) तयार गरिएको हो ।
यही कालको सेवामा नै देशका केही जिल्लाहरुको अनुगमन र अध्ययन गर्ने अवसर मिल्यो । शिक्षामा जतिसुकै कुशासन भएपनि नेतृत्वले चिन र थाइलैण्ड देशको छोटो अवधिको तालिम, प्रशिक्षणमा सहभागी हुने अवसर मलाई दिएको ठान्दछु । यो भ्रमणले विदेशीको मेहनत, इमान्दारिता र हाम्रो शैक्षिक तथा विकास अवस्थाको तुलना र नेतृत्वको क्षमताको विश्लेषण गर्नेसमेतको अवसर पनि यही रह्दा पाएको छु । यस मानेमा केन्द्रको बसाइ स्वदेश र विदेशको शैक्षिक, भौतिक विकासको अवस्था बुझ्ने र पेसागत क्षमता अभिवृद्धिमा धेरै फलदायी रह्यो । यो भ्रमणले निजी खर्च र पहलमा वैयक्तिक रुपमा देशभित्रका धेरै उत्कृष्ट सामुदायिक र निजी विद्यालयका प्रांगणमा पुगेर शैक्षिक प्रबन्ध र सिकाइका पक्ष संकलन गर्न घच्घचायो र साँच्चो रुपमा भन्दा मलाई लेखक, विश्लेषक र समालोचक हुने क्षमता दियो ।

६. २०७० पुषमा म क्षेत्रीय शिक्षा निर्देशनालय पोखरामा सरुवा भई गएको हुँ । २०७२ फागुन सम्मको २७ महिने जागीर अवधिमा पोखरामा रह्दा विद्यालय शिक्षासम्बद्ध विभिन्न विषयमा त्यस क्षेत्रका विद्यालय र विभिन्न विज्ञजनका प्रत्यक्ष अन्तर्वार्ता र लिखित धारणा लिने अवसरसमेत जुट्यो । सिमित कार्यालयका काम गरेपछि बाँकी हुने समय दैनिक काम कुनै नहुने भएकाले र शिक्षा सेवाका उपसचिवहरुको पदस्थापना नै समस्यामूलक भएका कारण हाजिर हुने र बस्ने बाहेक पदानुसार कुनै काम दिइएको थिएन । यसर्थ खाली दिमाग सैतानको घर नहोस् भन्नाका लागि व्यक्तिगत प्रयासमा, आफ्नै रुचिमा र खटाइमा शैक्षिक अनुसन्धान, विविध खोज, सरोकारवालाका शैक्षिक मुद्दाहरुमा सवाल र विभिन्न किसिमका रायसुझावहरु संकलन गर्ने कार्यमा जुटियो र मूर्त रुपमा सामग्री तयार पारी प्रकाशन पनि गरियो । यसरी शैक्षिक जर्नल २०७१ र २०७१ गरी २ ओटा बौद्धिक खुराकका जर्नल प्रकाशन गर्न गराउन पनि सकियो ।

७. २०७२ सालमा मुलुकमा गएको महाभूकम्पबाट देश नै क्षतविक्षत भयो । विशेष गरी पिडित बालबालिकाहरु पढाइ, लेखाइ र मानसिक तनावमा रहे । तिनलाई स्वास्थ्य तथा शिक्षामा राज्यकै तहबाट पूर्ण अभिभावकत्व प्रदान होस् र जथाभावी सहयोगका नाममा नागरिकको अपमान नहोस् भन्ने उद्देश्य राखी मैले उपसचिवलाई तोकिएको १० दिनको पारिश्रमिक सरकारी कोषमा जम्मा गर्नुका अतिरिक्त २०७२ असार ७ गते आफ्नै खर्चमा पोखरामा बृहद् कार्यक्रम आयोजना गरी प्रधानमन्त्री कोषमा एक महिनाको तलबभत्ता छुट्टै दाखिला गर्नै एकजना नागरिक हुँ ।
बालबालिका शिक्षा तथा स्वास्थ्य परामर्श कोषको आवश्यकता किन ? भन्ने अभियानका बारेमा रिपोटर्स क्लब काठमाण्डौँ, बुटवल, गुल्मी तम्घास आदि स्थानमा आफ्नै खर्चमा पत्रकार, सरोकारवालाहरुसमक्ष छलफल पनि चलाउँदै आएको हुँ । यसरी सामाजिक तथा शैक्षिक क्षेत्रमा संलग्न हुने र लेख रचना, बहसमा सरिक हुँदै २०७२ फाल्गुणमा काठमाण्डौँ पुनः उही शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमीमा काज सरुवा गरिएकाले आएको हुँ ।

८. २०७२ साल माघमा मेरो पोखराबाट काज सरुवा शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमीमा भएको हो । २०७३ असारमा सरुवा पदस्थापना भएपछि यताका दिनमा संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन नहुँदाका दिन सम्म केन्द्रीय कार्यालयमा जे जति काम दिइयो, त्यसैमा रमाएर आफूले सक्दो काम गरेको हुँ । मेरो के विशेषता छ भने, जीवनमा कहिल्यै व्यक्तिगत लाभका लागि यो भएन र ऊ भएन ? वा यो सुविधा पाउँ र त्यो अवसर मैले नै पाउँ भनेर जिकिर कहिल्यै गरिनँ । साँच्चै भन्ने हो भने २३ वर्ष शिक्षा प्रशासनको जागीर जी, हजुरी र चाकरीजन्य विन्ती नगरिकन खाएँ । कोही कसै हाकिमको अगाडि पछाडि नगरिकन स्वाभीमानपूर्वक शानले नै जागीर खाएको व्यक्ति हुँ भन्दा गर्व लाग्दछ । यही कारण भन्न सक्दछु, आजका मितिसम्म मेरो लागि तेरो माग र सुविधाका लागि यो यो काम र अवसर गरिदिएको छु भन्ने एकजना हाकिम मैले जन्माउन परेन र कसैले यो निगाह गर्ने अवसर पनि पाएन । यसर्थ म अति स्वाभीमानपूर्वकको जीवन बाँचेको छु भन्न सक्दछु । मलाई, लाग्छ, यो पनि सत्य हो, कोही हाकिम र कर्मचारी संयन्त्रभित्रको पद्धतिबाट मलाई व्यक्तिगत गुन लगाउने र लोभलालचमा पारी मन जित्ने प्रयासमा पनि लागेनन् । शायद मेरो भाग्य र नियति पनि यस्तै रहेर होला तापनि समयले केही केही अवसर पाएको छु र सबैको सदाशयता रहेकोले नै यस्तो भएको हो भन्ने ठान्दछु ।
माथि उल्लेखित कार्यहरुमात्र जीवनमा भरिएका होइनन् तर मुख्य उदाहरण चाहिँ हुन् । जागीरका अवधिमा कति तोकिएका काम भए र कति काम हुन सकेनन् वा भएनन् ? त्यसको कुनै लेखाजोखा राखिएको छैन । शायद, सबै यस्ता लेखाजोखा राख्ने र स्वमूल्ल्यांकन गर्ने पद्धति विकास भएको भए नेपालको प्रशासनको यो दुरावस्था नहुँदो हो । जीवनमा सरकारका पदाधिकारीले निर्देशित गरेर वा लगाएर भन्दा आफ्नै प्रयासमा यति धेरै पेसागत काम भएकी सरकारको जागीर माध्यममात्र भयो । यसरी नै सामाजिक रुपान्तरणका जे जति अभियानका कार्यहरु गरिए तिनमा सार्वजनिक प्रशासनको नेतृत्व, राजनैतिक नेतृत्वको क्षेत्रबाट कुनै प्रोत्साहन पाएको, गरिएको स्मरण नै छैन । नेतृत्व तहको पदाधिकारीबाट धन्यवाद पाउनु को त के कुरा ? गुल्मीका एकजना हाकिमले सरोकारवालालाई जम्मा पारी शिक्षा विषयमा छलफल चलाएर कार्यालयका गतिविधिमाथि टिप्पणी भो, तलाई कार्वाही गर्छुसमेत भनेको सम्झना छ । यसर्थ हाकिमहरु मेरो नजिक पर्दा, आफूले देख्दासमेत आँखा तर्काएर अर्कैतिर फर्किएर हिड्ने जे जुन अवस्था भोगी रहेको छु, त्यो कम पिडादायी छैन । त्यसैले मलाई सार्वजनिक प्रशासनको एक अंग हुँ र उपसचिवस्तरको कर्मचारी हुँभन्दा गर्व होइन लाज पो लाग्दछ । जी हजुरी नगर्ने र आफ्नो पेसाको काममा इमानदार हुनेहरु नेतृत्वबाट उल्टो अपमान हुने र उचित अवसरबाट समेत वञ्चित बनाइने गरेको अनुभव हुन्छ । यही कारण नै मुलुकको शिक्षा सेवा र पेसाको अपमान भएको निष्कर्ष निकाल्न नहोला तर यथार्थता यही हो भन्न चाहिँ सक्छु । आफैँ लाचार, मूर्दाझैँ निरीह प्राणी विकसित हुने अभ्यासमा नेपालको सार्वजनिक प्रशासनको एक असफल पात्र भएको छु । तसर्थ म स्पष्ट छ, मेरा कुनै गतिविधि र कार्यहरुबाट नेपालको सार्वजनिक प्रशासनको शाख, मान र आँचमा धक्का लागेको छैन, धेरै सुधार र आमूल परिवर्तनका लागि संघर्षको जग हाल्न सफल भएको ठान्दछु ।

कुराकानीको पहिलो भाग   :

नेपालको सार्वजनिक प्रशासन तथा सुशासन विषयमा उपसचिव पोखरेल संग लिएको अन्तरवार्ता

कुराकानीको दोस्रो भाग :

सरकारको सार्वजनिक सेवाको स्वरुप देशका जनता सबैको अनुहारमा एकएक गरी छर्लंग देखिनु पर्दछ-ईश्वरीप्रसाद पोखरेल

कुराकानीको  तेश्रो भाग  :

राष्द्रसेवक दृष्टि :- नेपालको सार्वजनिक प्रशासन तथा सुशासन भाग ३

 

कुराकानीको  चौथो भाग

राष्द्रसेवक दृष्टि:- नेपालको सार्वजनिक प्रशासन तथा सुशासन भाग ४

 

यस अन्तरवार्ताका अन्य भागहरु पनि जानकारी पाउन चाहनुहुन्छ भने @palpalonline लाई follow, like, share &

commentगर्न नभुल्नु होला धन्यवाद ।

यस अन्तरवार्ताका बाकी भागहरु क्रमसः दिइने छ ।