वैशाखमा नेपालले आफ्नै भू-उपग्रह प्रक्षेपण गर्ने

✍ बिप्लब पोख्रेल    2 years ago


काठमाडौँ — नेपालले अब आफ्नै स्याटालाइट ‘भू–उपग्रह’ उडाउने भएको छ । अगामी वैशाखमा नेपालले पहिले पटक आफ्नै भू–उपग्रह उडाउन लागेको हो ।

‘बर्डस’कार्यक्रम अन्तर्गत जापानस्थित क्यूसु इन्स्टि्च्यूट अफ टेक्नोलोजी (क्यूटेक) सँगको सहकार्यमा आगामी अप्रिलमा भू–उपग्रह उडाउन लागिएको हो। ‘नेपस्याट–१’ नाम दिइएको यो स्याटालाइट निर्माणका लागि सरकारले नेपाल विज्ञान प्रविधि प्रतिष्ठान नाष्टलाई एक करोड ८२ लाख रुपैया दिएको नाष्टका प्रविधि विभागका प्रमुख प्रा डा रविन्द्र ढकालले जानकारी दिए।
स्याटालाइटको नेतृत्व नेपालको तर्फबाट क्यूसेटमा स्पेस टेक्नोलोजी इन्जिनियिरिङमा विद्यावारिधि गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठले गरेका छन्। बर्डस् कार्यक्रम अन्तर्गत उनीहरु क्यूटेकमा छात्रवृत्तिमा अध्ययन गरिरहेका छन्।
विभागका प्रमुख ढकालले कान्तिपुरसँग भने, ‘भू–उपग्रह निर्माणको सम्पूर्ण कार्य सम्पन्न भएको छ। गत अगस्टमा इन्जिनियरिङ मोड्यूल तयार भएर डिसेम्बरमा वातवरणीय परीक्षण सम्पन्न भएको छ। अब पूर्ण रुपमा प्रक्षेपण गर्न सकिन्छ।’ स्याटालाइटको सकिङ, तापक्रमको अवस्थाको परीक्षणहरु सबै सकिएको उनले बताए।
यतिबेला स्याटालाइटको तथ्यांकहरु संकलनका लागि चाहिने ग्राउण्ड स्टेशन सम्बन्धि काम भइरहेको नाष्टले जनाएको छ। ग्राउण्डमा स्टेशनले भू–उपग्रहले पठाएको तथ्यांकहरुको विश्लेषण र संकलन गर्छ। यो स्टेशन नाष्टको कार्यालय परिसरमा निर्माण गरिने छ।
यस्तै स्टेशनका लागि चाहिने आवश्यक प्रविधिक विवरण तयार गर्ने कार्य पनि द्रुत गतिमा अगाडि बढिरहेको ढकालले जानकारी दिए। त्यहाँ आवश्यक पर्ने उपकरण, पूर्वाधार, जनशक्ति र स्टेशनलाई मोनिटरिङ गर्नका लागि नाष्टले इन्जिनियर रोशन पाण्डेलाई त्यस सम्बन्धि प्रशीक्षणका लागि जापान पठाउँदैछ।प्रशिक्षणलिएर पाण्डे स्वदेश फर्किएपछि डाटा संकलन केन्द्र सञ्चालनमा ल्याइने नाष्टको कार्यतालिका छ।
१० क्युबिक सेन्टिमिटर घनाकार (क्यूबोइड) आकारको उक्त स्टालाइट ‘नानो स्याटालाइट’ हो। छोटो समय र कम लागतमा तयार गर्न सकिने भएकाले पहिलो भू–उपग्रहमा ‘नानो स्याटालाइट’ प्राथमिकतामा पर्ने गर्छ। ‘मेगा स्याटालाइट’ बनाउन १० देखि १५ वर्ष लाग्नुका साथै धेरै अर्ब खर्च हुने हुँदा प्रक्षोपणका बेला जोखिम धेरै हुन्छ। व्यावसायिक रुपमा न्यानो स्याटालाइट निर्माण गर्दा ५ करोड लाग्ने हुँदा प्रक्षोपणका बेला हुने सक्ने सम्भावित क्षति कम हुने उनले बताए।
स्याटालाइटले तापक्रम, आद्रता, वायुमण्डलीय चापका साथै भौगोलिक अवस्थाको तथ्यांक दिनेछ। यसले बादलको बहाव हेरेर मौसमको जानकारीसमेत दिने ढकालले बताए। यो स्याटालाइटको मुख्य काम भनेको ‘इमेजरी डाटा’ रहेको नाष्टले जनाएको छ। यसलाई ‘टाउन प्लानिङ’ मा पनि प्रयोग गर्न सकिने नाष्टको भनाइ छ।
यसलाई अन्य धेरै नानो स्याटालाइटहरुसँग कम्युनिकेसन र नेटवर्किङ गर्न सके टेलिकम्युनिकेशन र इन्टरनेटको उपलब्धतामा नेपालले आफैले गराउन सक्ने वातवरण तयार गर्न सकिने ढकालको भनाइ छ,तर त्यो समयभने आइनसकेको देखिन्छ।
यो स्याटालाइटले हिमनदीको अवस्था, हिमतालको विष्फोटन, हिमपहिरो, हिमाली तथा पहाडी क्षेत्रको जानकारी, भौगोलिक अवस्थाको जानकारीका साथै आगलागी भएको स्थानाहरु समेत पत्ता लगाउन सक्नेछ।
भू–उपग्रह प्रक्षेपणको अनुभवबाट मुलुकमा भू–उपग्रह सम्बन्धि कानून निर्माणमा सघाउ पुग्ने समेत बताइएको छ।
यस्तो छ प्रक्षेपण तालिका
नेपस्याट–१ नाम दिइएको यो भूउपग्रहमा नेपाल र नाष्टको लोगो अंकित स्टिकर टाँसिएको छ। फ्रब्रुअरी १८ मा भू–उपग्रह नाष्टले जापानको अन्तरिक्ष संस्था ज्याक्सालाई हस्तान्तरण गर्नेछ। वातावरणीय अवस्था हेरेर मध्य अप्रिलदेखि अप्रिलको् अन्तिम् सातासम्ममा स्याटालाइट प्रक्षेपण गर्ने तयारी छ।
प्रक्षेपणको जिम्मेवारी अमेरिकी स्पेस कम्पनी अर्बिटल ए टीके अमेरिकाले लिएको छ। कम्पनीको सिग्नस रकेटले स्याटेलाइट उडाउनेछ। स्याटालाइट अन्तरिक्षमा पुगेपछि एक महिनासम्म इन्टरनेश्नल स्पेश स्टेसनमा रहेन छ। स्पेश स्टेशनमा रहेका अन्तरिक्ष यात्रीहरुले पुन: स्याटालाइटको परीक्षण गर्नेछन्।
मेको अन्त्यमा स्पेश स्टेशनबाट भू–उपग्रहलाई पृथ्वीको कक्षमा छाडिनेछ। त्यसको दुईदेखि ३ तीन दिनपछि तथ्यांकहरु दिन सुरु गर्ने नास्टले जनाएको छ।
स्याटालाइट पृथ्वीको भू–मध्ये रेखालाई ९० डिग्रीको कोण बनाएर परिक्रमा गर्नेछ भने भएर पृथ्वीको सतहभन्दा करिब ४ सय किलोमिटर माथि हुनेछ। एक दिनमा यो स्याटेलाइट नेपालमा १० मिनेटसम्म रहने ढकालको भनाइ छ। स्याटालाइटमा ४३७ मेघाहर्ज यूएचएफ ब्यान्ड प्रयोग गरिएको छ।
बर्डस कार्यक्रम संयुक्त राष्ट्रसंघको युनेस्कोले भू–उपग्रह नभएका मुलुकहरुलाई लक्षित गरी सञ्चालन गरेको कार्यक्रम हो। जापानको क्यूटेकसँग सहकार्य गरी भू–उपग्रह निर्माणका लागि पहलकदमी गरेको छ।
नेपाल सरकारले ६ महिनाअघि भू–उपग्रह निर्माणका लागि एक करोड ८२ लाख रुपैयाँ नाष्टमार्फत क्यूटेकलाई तिरेको थियो। सन् २०१९ मा नेपालको नेपस्याट–१, श्रीलंकाको राभना–१ र जापानको उगिसू भू–उपग्रह यो कार्यक्रम अन्तर्गत प्रक्षेपण गरिंदैछ।
यसअघि अफ्रिकाका घाना, सेनेगल, नाइजेरिया, मंगोलिया र त्यसपछि थाइलेन्ड र भुटानले यो कार्यक्रम अन्तर्गत भू–उपग्रह प्रक्षेपण गरिसकेका छन्। बर्डस कार्यक्रम अन्तर्गत हरेक ‘ब्याच’ मा जापानले पनि आफ्नै भू–उपग्रह पठाउने गरेको छ।