खोला मिचिँदा बस्तीमा बाढी

✍ प्रदिप ढकाल    1 year ago

काठमार्डाैँ,  साउन २ गते । राजधानीमा खोला मिचेर घर बनाउँदा बस्तीमा बाढी पसेको छ । गएको बिहीबार र शुक्रबार परेको अविरल वर्षाले काठमाडौँका धेरै स्थान जलमग्न भए । खोला किनारका अव्यवस्थित बस्तीमा मात्र होइन, बीच सहरका पक्की घरहरूमा समेत बाढी पस्यो । 
गएको शुक्रबार बल्खु खोला बढेर बस्तीमा पसेको देखेर डराउनुभएका इन्दिरा खत्रीले भन्नुभयो, “पहिले–पहिले यस्तो देखेको थिइनँ, केही वर्षयता केहीबेर पानी पर्दा पनि बाढी बस्तीमा पस्न थालेको छ । ” कलङ्की सुनारगाउँमा बस्ने उहाँ घर खोला नजिकै भएका कारण अचेल पानी पर्न थालेपछि डराएर राम्रोसँग निदाउनसमेत नसकेको सुनाउनुहुन्छ


खोला मिचेर घर बनाउने प्रवृत्ति बढेका कारण वर्षात्मा खोला बढ्दा बस्तीमा खोला पसेको उहाँको बुझाइ छ । खोलाको बहाव क्षेत्र नै च्यापेर भौतिक संरचना निर्माण गर्नु जोखिमपूर्ण रहेको पछिल्ला दिनमा बस्तीमा पसेको भेलले पनि पुष्टि गरेको छ । उपत्यकामा बहने मझौला तथा साना स्तरका खोलानालाको भेल यहाँका लागि जोखिम बनेको छ । मुख्यगरी बागमती नदी र यसका सहायक नदी, खोलामा वर्षात्मा बाढी आउँदा धनजनको क्षति हुने गरेको छ ।
यी नदीको कटान न्यूनीकरण गर्ने काम अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले विभिन्न परियोजनामार्फत गरिरहेको छ । काठमाडौँमा बग्ने बागमती नदी र यसका सहायक नदीको बहाव क्षेत्र कायम गर्ने अधिकार समितिलाई दिइएको छ । नदीको आकार र उद्गमसँगको दूरीका आधारमा उपत्यकाका नदीमा २० देखि ८० मिटर चौडाइको बहाव क्षेत्र निर्धारण गरिएको छ ।
उद्गमबाट नजिक चौडाइ कम र टाढा हुँदै जाँदा अन्य खोला र नाला मिसिने भएकाले बहाव क्षेत्रको चौडाइ बढाउँदै लैजानुपर्छ तर नदीको सुरक्षित बहाव क्षेत्र मिच्ने र नदीको बहाव क्षेत्र च्यापेर घर बनाउने काम भने अझ नरोकिएको बागमती नदी सुधार आयोजनाका उपप्रमुख तथा इन्जिनियर योगेन्द्र चित्रकार बताउनुहुन्छ । नदी किनार मिचेकै कारण नदी किनारका बस्तीमा बाढी पस्ने गरेको छ । कटान र भेलबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि समितिले नदी नियन्त्रणको काम गरिरहेको छ ।
अर्काेतिर नदीले छोडेको जग्गामा बस्ती बसाइएको छ । उपप्रमुख चित्रकार भन्नुहुन्छ, “हाम्रा नदी तथा खोलाको नक्सा वि.सं. २०२१ र २०४५ मा कायम भएको हो । यतिन्जेल खोलाले धार परिवर्तन गरी छोडेको जग्गामा व्यक्तिले कब्जा गरी घर बनाएर दुई÷तीन पुस्ताले भोगचलन गरिसकेको छ । यस्ता जग्गाा खाली गराउन सकेको छैन । ” यसरी बसाइएका बस्तीहरू पनि बाढीको जोखिममा रहेको उहाँ बताउनुहुन्छ ।

सुकुम्बासी बस्तीको झनै बिजोग
उपत्यकाको सहरी क्षेत्रमा बग्ने नदी किनारमा दर्जनौँ अव्यवस्थित (सुकुम्बासी) बस्ती छन् । यस्ता बस्तीका कारण धेरै ठाउँमा नदीको बहाव क्षेत्र खुम्चिन गएको छ । यस्ता बस्तीहरू वर्षात्को मौसममा सधैँ भेलको त्रासमा हुने गरेको सुकुम्बासी महिलाका लागि काम गर्ने संस्था नेपाल महिला एकता समाजका अध्यक्ष विमला तामाङ बताउनुहुन्छ । उहाँका अनुसार बाढी आएपछि सुुकुम्बासी बस्तीको बिजोग हुने गरेको छ ।
खोला किनारमा रहेका अव्यवस्थित बस्तीको उचित व्यवस्थापन र यस्ता बस्ती बढ्न नदिने विषयमा केन्द्रीयस्तरको राजनीतिक पहलकदमीबिना सम्भव देखिँदैन । नेपाल सरकारले नै
प्रभावकारी कदम नचालेसम्म यस्ता बस्तीको जोखिम न्यूनीकरण हुन नसक्ने चित्रकार बताउनुहुन्छ । यो समचार गोरखापत्र बाट निकालिएको हो ।