के खोज्छन् पुरुषहरु आफ्ना नव-दुलहीमा ?

✍ बिप्लब पोख्रेल    2 years ago


अक्सर प्रेममा युवा जोडी बहकिन्छन् । उनीहरुको प्रेम केवल शारीरिक आकर्षणबाट सुरु हुन्छ । एउटा भनाई छ नि, प्रेम आँखाबाट सुरु हुन्छ र दिलमा पुगेर टुंगिन्छ ।

प्रेम-जीवनमा केवल उनीहरुलाई एकअर्काको सामिप्यता भए पुग्छ । गफ गरौं, डेटिङ जाऔं, रोमान्स गरौं । बस्, यस्तै चक्करमा हुन्छन् उनीहरु । र, यस्तो बेला एकअर्काको आनीवानी,  प्रवृत्ति, स्वभावबारे खास हेक्का हुँदैन । वा कसैको प्रवृत्ति र स्वभाव केलाएर कसैले प्रेम गर्दैन । यसको अर्थ युवाहरु प्रेम गर्नका लागि युवतीहरुमा धेरै मापदण्ड आवश्यक देख्दैन । केवल प्रेमिल मन र शारीरिक आकर्षक भए पुग्छ ।

तर, विवाहको सन्दर्भमा ?

युवाहरु जसलाई प्रेम गर्छन्, उनैलाई आफ्ना भावी दुलहीको रुपमा देख्छन् भन्ने छैन । किनभने जस्तो प्रेमिकासँग रोमान्स गर्न चाहन्छन्, जीवन व्यतित गर्नका लागि भने फरक किसिमको पार्टनर खोज्छन् ।

प्रेम त वैंशालु उमेरको लहड पनि हो । तर, जीवन लहडले चल्दैन । जीवन चलाउनका लागि पर्फ]{ट पार्टनरको जरुरी हुन्छ । जब पार्टनरसँग व्यवहारिक तालमेल मिल्छ, भावनात्मक तालमेल मिल्छ, तब मात्र परिवारको रथ अगाडि बढ्छ । अन्याथा दाम्पत्य जीवन खल्लो र बेसुरको हुनपुग्छ ।

त्यसैले पुरुषहरु विवाहअघि आफ्ना दुलहीबारे निकै सोचमग्न हुन्छन् । दुलहीको रुपमा भित्र्याउने युवतीको रुपरंग मात्र होइन, स्वभाव, प्रवृत्ति, चालचलन सबै कुरामा घोत्लिने गर्छन् ।

यस्तो युवतीसँग उनीहरु आफ्नो जोडी बाँध्न चाहन्छन्, जसले पारिवारिक जीवनलाई सहज र अर्थपूर्ण बनाउन सहयोग गर्छ । जीवनका अप्ठ्याराहरुमा साथ दिन्छन् । सुखमा रमाउन र दुःखमा साथ दिन तयार हुन्छन् । पारिवारिक संस्कार र चालचलनलाई आत्मसात गर्छन् । आफ्ना मातापिता, इष्टमित्रलाई सम्मान गर्छन् । घरायसी वातावरण प्रेमिल र रंगिन बनाइदिन्छन् । सबैलाई उत्तिकै स्नेह, ममता गर्छन् । यस्तो युवतीलाई दुहलीको रुपमा भित्र्याउन चाहन्छन् ।

समझदार

आफ्ना पार्टनर वा दुलही समझदार होस् भन्ने अपेक्षा हुनु स्वभाविक हो । किनभने जब दुई भिन्न पारिवारिक पृष्टभूमीमा हुर्किएका युवा र युवती एकाकार हुन्छन्, उनीहरुबीच कतिपय कुराहरु मिल्दैन । कति कुरामा उनीहरुको धारणा समान हुँदैन । बानी व्यवहारमा पनि एकरुपता हुँदैन । पारिवारिक चालचलन फरक हुनसक्छ ।

यस्तो अवस्थामा आफुले भित्र्याएकी दुलही समझदार होस् भन्ने अपेक्षा राखिन्छ । जब दुलहीले फरक पृष्टभूमीमा आफुलाई एडजस्ट गर्न सक्छन्, फरक चालचलनमा आफुलाई अभ्यस्त गराउन सक्छन्, तब मात्र पारिवारिक जीवन सुखमय हुन्छ ।

संस्कारी

आधुनिक समाजले संस्कारको कुरा गर्दा ‘आडम्बर’ भन्न सक्छन् । कथित शिक्षितहरु संस्कारलाई ‘पुरानो चलन’ मान्छन् । जबकी संस्कार भनेको जीवन, परिवार र समाजलाई एउटा व्यवस्थित लयमा डोहोर्‍याउने माध्याम हो ।

हरेक घर-परिवारको आफ्नो संस्कार हुन्छ । त्यही संस्कारलाई नियमपूर्वक पालना गरेकाकाले नै उनीहरु पथभ्रष्ट हुँदैनन् । यसमा कुन समयमा उठ्ने, कुन समयमा खाने, कसरी मर्यादा पालना गर्ने, कस्तो खानपान गर्ने, कस्तो बोलीचाली अपनाउने भन्ने यावत् कुरा पर्छ । यस कुरालाई फरक पृष्टभूमीमा हुर्किएकी नव दुलहीले अत्मसात गरोस् भन्ने अपेक्षा गरिन्छ ।

स्नेहवती

अहिलेको समाजमा माया, ममता हराउँदै गएको छ । व्यक्ति एकलकाँटे हुँदैछन् । यस्तो अवस्थामा सबैसँग प्रेममय सम्बन्ध स्थापित गर्ने पारिवारिक सदस्यको उपस्थिती महत्वपूर्ण भएको छ ।

आफ्ना श्रीमानलाई भौतिक रुपमा मात्र साथ दिने होइन, प्रेममय वातावरणमा रमाउन दिने हुनुपर्छ । दाम्पत्य भनेको केवल भौतिक सम्बन्ध मात्र होइन, त्यसलाई जोड्नका लागि प्रेमरस चाहिन्छ । आपसी प्रेमले नै दाम्पत्य सम्बन्धमा मिठास भर्छ । श्रीमतीको रुपमा आफ्नो जिम्मेवारी बहन गर्ने मात्र नभई प्रेममय सम्बन्ध कायम राख्नुपर्ने हुन्छ । अक्सर श्रीमान् आफ्ना दुलहीबाट यस्तै अपेक्षा गर्छन् ।

सहयोगी

विवाह गरेपछि एउटाको भर अर्कोलाई हुनुपर्छ । अर्थात एकअर्काको आड-भरोसा, साथ-सहयोग चाहिन्छ । माटोको भर ढुंगालाई, ढुंगाको भर माटोलाई भनेजस्तै श्रीमान्-श्रीमतीबीच सहयोगी साथ चाहिन्छ । जब यस किसिमको भावना र व्यवहारमा तालमेल मिल्छ, तबमात्र दाम्पत्य सम्बन्ध सहज हुन्छ ।

परिवारमा हरेकेको आ-आफ्नै दायित्व हुन्छ । एकअर्काको दायित्वलाई बुझेर, बोध गरेर आफ्नो तर्फबाट सहयोग गर्नुपर्छ । घर परिवारको अवस्था के छ ? कस्तो समस्या छ ? यसबाट कसरी उम्कने भन्ने कुरामा पनि सहयोग गर्नुपर्ने हुन्छ ।

अक्सर आफ्नो काममा साथ दिने र सफलताको लागि सधै उत्प्रेरिक बन्ने दुलही नै पुरुषहरुको रोजाईमा पर्छन् ।