स्रोत नखुलेको ५७ लाख रुपैयाँसहित भारतीय पक्राउ

✍ नारायण पोख्रेल    1 year ago

स्रोत नखुलेको ठूलो परिमाण नेपाली रुपैयाँसहित बाराबाट एक जना पक्राउ परेका छन्। ५७ लाख ७९ हजार ४९० रुपैयाँसहित भारतीय नागरिकलाई बुधबार पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा बिहार मोतिहारी जिल्लाका बृजकिशोर कुमार छन्। बारा प्रहरीले उनलाई सुवर्ण गाउँपालिका वडा नम्बर ७ दसगजा क्षेत्रबाट पक्राउ गरेको हो।


बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईक अनुसार बीआर एसी ४४८६ नम्बरको मोटरसाइकलमा सवार उनले शरीरका विभिन्न भाग, हेल्मेट र डिकीमा रकम लुकाएका थिए।

शंका लागेर चेकजाँच गर्दा ठूलो परिमाणमा नेपाली रुपैयाँ फेला परेको भट्टराईले बताए। पक्राउ परेका भारतीय नागरिकलाई रकमसहित आवश्यक कारबाहीको लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाइएको एसपी भट्टराईले जानकारी दिए।