पुल मर्मत गर्न राजमार्ग ९ घन्टा अवरुद्ध

✍ बिप्लब पोख्रेल    1 year ago

तनहुँ र चितवन जोड्ने मुग्लिनस्थित आर्कब्रिजको दुवैतिर पर्खाल लगाउनुपर्ने भएकाले मुग्लिन–पोखरा सडकखण्ड ३० जेठसम्म दैनिक नौ घन्टा अवरुद्ध हुने भएको छ । पृथ्वी राजमार्गअन्तर्गतको सो खण्डमा दायाँ–बायाँको साइडमा कालोपत्रे पनि गर्नुपर्ने भएकाले सडक अवरुद्ध भएको हो ।


इलाइट एड्भेन्चर लोेहनी जेभीका सञ्चालक मोतीलाल शर्माले पुलको वारिपारि मोड कटिङ र कालोपत्रे गर्नुपर्ने भएकाले दिउँसो चार घन्टा र राति पाँच घन्टा सडक अवरुद्ध हुने बताए । उनका अनुसार ३० जेठसम्म सवारीसाधन आवत–जावत बन्द रहनेछ । सडक १६ जेठदेखि अवरुद्ध हुँदै आएके छ ।

चितवनतर्फ कटिङमा खासै समस्या नभए पनि तनहुँतर्फ भने समस्या देखिएको छ । ग्रेड कटिङ मिलाउने क्रममा भिरबाट माटो खस्ने क्रम नरोकिएकाले समस्या उत्पन्न भएको हो । यात्रुहरूलाई सास्ती नहोस् भनेर निर्माण कम्पनीले तनहुँ र चितवनको प्रहरी प्रशासनसँग समन्वय गरेर काम अघि बढाएको छ ।

त्रिशूली नदीमाथिको पुल जीर्ण भएपछि ०७१ देखि आर्कब्रिज निर्माण थालेको थियो । मुग्लिन पुलमा सडक अवरुद्ध हुँदा गोरखा, तनहुँ, कास्की, स्याङ्जालगायतका जिल्ला जाने यात्रुहरूलाई असर परेको छ । सडकको बाँकी काम सम्पन्न गर्नुपर्ने भएकाले ३० जेठसम्म सडक अवरुद्ध हुने पुल योजना मध्य क्षेत्र सेक्टर नं. २ चाकुपाट ललितपुरले जनाएको छ ।




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल 
एकैदिन ६ जनाको मृत्यु ✍ बिप्लब पोख्रेल