वर्षौं लाग्न सक्छ रेबिजको लक्षण देखिन

✍ बिप्लब पोख्रेल    1 year ago

रेबिज जनावरबाट मानिसमा सर्ने रोग हो । आरएनए भाइरस (रेबिज भाइरस)का कारण ब्वाँसो, फ्याउरो र स्याललगायत जंगली जनावरमा यो रोग उत्पन्न हुन्छ र घरपालुवा कुकुरमा सर्छ । विशेषगरी, कुकुरकोे टोकाइबाट मानिस र अन्य स्तनधारी प्राणीमा रोग सर्छ । रेबिज भाइरस उच्च तापक्रम र केही रसायनप्रति अति नै संवेदनशील हुन्छ । यो ६० डिग्री सेल्सियस तापक्रममा ३५ सेकेन्डसम्म मात्र बाँच्न सक्छ ।


यसरी सर्छ

  •  रेबिजका कीटाणु रोगी पशुको -यालमा रहने हुँदा घाउको माध्यमबाट शरीरमा प्रवेश गर्छन् । बिस्तारै स्नायु हुँदै मस्तिष्कमा संक्रमण गरी रोग उत्पन्न हुन्छ । बौलाहा कुकुरको टोकाइबाट सबैभन्दा बढी अर्थात् ९४ प्रतिशत रेबिज मानिसलाई सर्ने गर्छ ।
  •  स्याल, ब्वाँसो, न्याउरीमुसो र चमेरोको टोकाइबाट पनि रेबिज सर्न सक्छ । रेबिज भाइरस संक्रमण भएका जनावरको -याल वा अन्य पदार्थ मानिसको शरीर वा कुनै अंगमा रहेका घाउ, नाक, मुख तथा आँखामा लागेमा यो रोग गर्छ । साथै, रोगी मानिसको आँखाको नानी प्रत्यारोपण गर्दा पनि रेबिज सर्छ ।

लक्षण

  •  मानिसको शरीरमा रेबिज भाइरस प्रवेश गरेपछि रोग देखापर्न तीन देखि १२ हप्तासम्म लाग्छ । तर, कतिपयमा दुई वा पाँच दिनपछि पनि लक्षण देखापर्न सक्छ । कतिपय अवस्थामा यसको लक्षण देखिन वर्षौंसमेत लाग्न सक्छ ।
  •  घाँटीभन्दा माथिको भाग, औँला  र शरीरका धेरै ठाउँमा टोकेको छ भने लक्षण छिटो देखिन्छन् । सुरु–सुरुमा टाउको दुख्ने, झमझमाउने, एक्कासि चिलाउनेजस्ता लक्षण देखिन्छन् । बिस्तारै ज्वरो आउने, कमजोर हुने, मांसपेशी दुख्ने र झर्कने लक्षण देखिन्छन् । समस्या जटिल हुँदै गएपछि शरीरमा कम्पन हुने र होस हराउने हुन्छ । साथै, बिरामी विनाकारण बाझ्ने गर्छन् ।
  •  स्वास फेर्न गाह्रो महसुस हुन्छ । साथै, खानेकुरासँगै पानी पनि निल्न गाह्रो हुने समस्या देखापर्छन् । यी रेबिजको अन्तिम अवस्थाका लक्षण हुन् ।
  •  बिरामीमा हाइड्रोेफोबिया अर्थात् पानीदेखि डराउने समस्या दखापर्छ । जसलाई एरोफोयिबा पनि भनिन्छ, यो अवस्थामा पुगेको बिरामी धेरै दिन बाँच्दैन ।

नियन्त्रण तथा उपचार

  •  छाडा कुकुर वा शंकास्पद जनावरले टोकेमा जतिसक्दो चाँडो साबुन पानीले धोएर स्प्रिट लगाउनुपर्छ । सँगै एक्सपोजर खोप, हाइपर इम्युन सिरम (आइजिजी) र टिटानस खोपअनिवार्य लगाउनुपर्छ ।
  •  रेबिजविरुद्धको खोप मासुमुनि र छालामुनि गरी दुई किसिमले दिइन्छ । मासुमुनिको सुई चार र छालामुनिकोे सुई तीनपटक लगाउनुपर्छ ।
  •  यदि, कुकुर वा अन्यले टोकेमा सो जनावर घरपालुवा वा भुस्याहा कस्तो भन्ने पत्ता लगाउनुपर्छ । रेबिजविरुद्ध खोप लगाएको/नलगाएको यकिन गर्नुपर्छ । पशुलाई कम्तीमा १० दिन निगरानीमा राख्नुपर्छ । १० दिनभित्र पशु आफैँ मरेको खण्डमा प्रयोगशालामा परीक्षण गराई रेबिज भए/नभएको पत्ता लगाउन सकिन्छ ।
  • रेबिजविरुद्धको खोप वेलैमा लगाउनुपर्छ । जसले गर्दा रोग लाग्नै नपाओस् ।