समयको महत्व

✍ बिप्लब पोख्रेल    1 year ago

एकपटक महात्मा गान्धी दान्डी यात्राका क्रममा थिए । यात्रा गर्दैगर्दा उनको टोली एक स्थानमा आराम गर्न छोटो समयका लागि रोकियो । एकैछिनको विश्रामपछि जब गान्धीको टोली यात्रामा सामेल भयो, त्यति नै वेला गान्धीका एक अंग्रेज प्रशंसक उनीसित भेटघाट गर्न त्यहाँ आइपुगे । 


गान्धीनजिक पुगेपछि उनले आफ्नो हात गान्धीतर्फ अघि बढाउँदै भने— ‘बापु, म वाकर हुँ ।’ तर, आफ्नो टोलीले यात्रा सुरु गरिसकेको हुनाले गान्धीले ती अंग्रेजलाई समय दिन सकेनन् । त्यसैले, उनले हतारिँदै हात मिलाए र भने— ‘म पनि त  ‘वाकर’ नै हुँ । तपाईंसित भेट हुँदा मलाई निकै खुसी लाग्यो ।’ यति भनेर उनी हतारहतार अघि बढे । 

गान्धीको यस्तो व्यवहार देख्दा उनको यात्रामा सहभागी एक सज्जनलाई अचम्म लाग्यो । उनले गान्धीसित यस सम्बन्धमा भने— ‘बापु, तपाईंले ती अंग्रेजलाई अलि समय दिएर भेटघाट तथा कुराकानी गर्नुभएको भए जाती हुने थियो । यसबाट तपाईं र तपाईंको यात्राको चर्चा हुने थियो । अंग्रेजी पत्रपत्रिकामा तपाईंको नाम सम्मानपूर्वक प्रकाशित हुने थियो ।’ 

ती सज्जनको यस्तो भनाइ सुनेपछि गम्भीर हुँदै गान्धीले भने— ‘तपाईंले एकदम ठीक भन्नुभयो मित्र ! उनीसित कुराकानी गरेको भए मेरो चर्चा हुन सक्थ्यो । तर, मेरा लागि आफ्नो चर्चा वा प्रसिद्धिभन्दा पनि समय अनमोल छ । त्यसैले, म समय खेर फाल्न चाहन्नँ ।’

 




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल