विरक्तिँदै अमेरिकी जीवन

✍ बिप्लब पोख्रेल    1 year ago

जीवनमा बैँस, बल र वर्ष सकिँदै जाँदा अमेरिकी जीवन विरक्तिँदै जान्छ भन्ने चिन्ता दक्षिण एसियाली मूलका आप्रवासीबीच हुने गरेको छ । अमेरिकी जीवन व्यक्तिवादी जीवन हो । परिवारिक संरचनामा एकल परिवार प्रणाली हावी छ । तसर्थ बुढ्यौलीमा वृद्धाश्रम वा यस्तै विकल्प नरहेको जिकिर गरिन्छ । अमेरिकामा वालिग भएपछि छोराछोरीले अभिभावकको घर छाड्ने र वृद्ध अभिभावकको प्रत्यक्ष रेखदेख नगर्ने संस्कृति छ । किन यस्तो हुन्छ ? म आफैँ अमेरिकाका लागि दक्षिण एसियाली मूलको आप्रवासी एवं समाजशास्त्रको विद्यार्थी भएकाले मेरा लागि यो चासो बन्यो ।


अमेरिकी समाजमा एकल जीवनको यथार्थ एवं कमजोर पारिवारिक सम्बन्धबारे समाजशास्त्रीय कारणबारे बुझ्न आफ्नै विद्यार्थीस“ग तिनको विचार जान्ने जमर्को गरेँ । कलेजको क्याफ्टेरियामा गरेको कफी गफदेखि ड्युटीबाट डेरा फर्कने वेला सब–वेमा गरेको समसामयिक समीक्षालाई आलेखमा समेट्ने प्रयास गरेको छु । आलेखमा अमेरिकीमा एकल जीवनप्रतिको मोह र वालिग हुनासाथ अभिभावकबाट किन अलग हुन चाहन्छन् युवा ? भन्ने विषयमा उनीहरूको अनुभवको मात्र विश्लेषण गर्न खोजिएको छ । केही युवाको अनुभव मात्र समेटिएकाले यसको निष्कर्ष सर्वमान्य नहुन सक्छ । साथै आलेखको आशय अमेरिकी सबैले आफ्ना अभिभावकप्रति जिम्मेवारी बहन गर्दैनन् या गर्न रुचाउ“दैनन् भन्ने पनि होइन ।  

अफ्रिकन–अमेरिकी विद्यार्थी एन्डर्सन गरिबीलाई यसको मुख्य कारक मान्छन् । एन्डर्सनको बुझाइमा गरिब परिवारमा तुलनात्मक रूपमा पारिवारिक बन्धन कमजोर हुन्छ । अमेरिकामा एकल अभिभावक भएका र महिलाले सबै जिम्मेवारी सम्हालेका परिवारमा गरिबी अधिक रहेको स्मरणीय छ । गरिब परिवार चाहे त्यो एकल या डबल अभिभावक भएको परिवार होस्, बालबच्चाको उमेर बढेसँगै पारिवारिक खर्च पनि बढ्ने हुनाले अभिभावकले नै हुर्केका छोराछोरीले घर छाडोस् भन्ने चाहन्छन् । उनी आफ्नै उदाहरण दिँदै भन्छन्, ‘म एकल महिलाले हुर्काएको छोरा हुँ ।

आमाको सिंगल बेडरुमको अपार्टमेन्ट छ । हुर्कंदै गएपछि मेरा लागि अलग बेडरुमको आवश्यकता भयो । आर्थिक अवस्थाका कारण आमाले दुई बेडरुमवाला अर्पाटमेन्ट लिन सक्तिनन् । उनले छोरा हाईस्कुल ग्र्याजुएट हुनासाथ गइदियोस् भन्ने चाहेपछि मैले घर छाडेँ ।’ अमेरिकामा गरिब आफैँले खर्च गर्नुपर्छ, तर धनीको हकमा त्यो लागू नहुन सक्छ । एन्डर्सनको भन्दा फरक, तर आर्थिक पक्षलाई नै कारक माने, यहुदी समुदायका गोमरीले । अमेरिकामा सबैभन्दा ठूलो कुरा काम हो । अवसरको खोजीमा हाईस्कुल सक्नासाथ जता पनि जानुपर्ने भएकाले पनि अमेरिकन परिवार एकल संरचनाको भएको उनको तर्क थियो ।

परिवार लस एन्जलसमा भए पनि आफू अवसरको खोजीमा हाईस्कुल सक्नासाथ न्युयोर्क पुगेको उनले बताए । काम र पढाइको चापका कारण गोमरी लसएन्जलस नगएको दशक बितिसकेको रहेछ । सामको हजुरबुबा पूर्वी युरोपबाट अमेरिका छिरेका थिए । उनको विचारमा पारिवारिक सम्बन्ध कमजोर हुनमा विवाह प्रणाली दोषी छ । विनाविवाह बच्चा जन्माउने प्रचलनले पारिवारिक सम्बन्ध निकै कमजोर भएको सामको बुझाइ छ । एकै आमाबाट जन्मेका दाजुभाइ–दिदीबहिनीको पनि बाबु फरक–फरक हुने हुँदा आपसी आत्मीयता कमजोर रहने गर्छ । परिणामस्वरूप बच्चाहरू वालिग हुनासाथ घर छाड्ने गर्छन् ।

अधिकांश आप्रवासी काम गर्ने सिलसिलामा बच्चालाई सबेरै ‘बेबी सिटर’मा पठाइदिने अनि मध्यरातमा घरमा ल्याउने गर्छन् । यसरी हुर्किएका बच्चाले अभिभावकको लाडप्यार पाउने कुरा त परको कुरा, असली अभिभावक को हो भन्ने कुरामै द्विविधामा रहन्छ ।

 दक्षिण एसियाली मूलकी सन्जिदाको तर्क भने अलिक फरक छ । भन्छिन्, ‘भोलि तपाईंको  बच्चाले तपाईंलाई कत्तिको सुसार गर्छ भन्ने कुरा आज तपाईंले त्यो बच्चालाई कति स्याहार गर्नुभयो भन्ने विषयले निर्धारण गर्छ ।’ उनको भनाइमा अधिकांश आप्रवासी काम गर्ने सिलसिलामा बच्चालाई सबेरै ‘बेबी सिटर’मा पठाइदिने अनि मध्यरातमा घरमा ल्याउने गर्छन् । यसरी हुर्किएका बच्चाले अभिभावकको लाड–प्यार पाउने कुरा त परको कुरा, असली अभिभावक को हो भन्ने कुरामै द्विविधामा रहन्छ । यस्तो परिस्थितिबाट गुज्रेका बच्चाले जीवनमा आमा–बुबाको आवश्यकता र महत्व बुझ्ने अवसर नै बिरलै पाउँछन् । अनि त्यस्तो बच्चाले भविष्यमा अभिभावकको स्याहार–सुसार गर्छ भनेर सोच्नु कसरी सान्दर्भिक हुन्छ ? ‘आइसोलेसन एन्ड डिभल्पमेन्ट’ सिद्धान्तअनुसार कमजोर अभिभावकत्व बन्धनमा बाल्यकाल बिताएकाले भविष्यमा अभिभावकप्रति प्रत्यक्ष जिम्मेवारी बहन गर्ने सम्भावना कम रहन्छ ।

शिशु स्याहार केन्द्रबाट हुर्केका बालबालिकाले आफ्ना वृद्ध आमाबुबालाई वृद्धाश्रममा राख्नु खास अनौठो विषय भएन । टर्किस मूलकी बेलायती नागरिक अदाले उत्तर–अधुनिकतालाई यसको मुख्य कारक मान्छिन् । आधुनिक समाज व्यक्तिवादी छ, त्यसैले भावनात्मक संवेगमा क्रमिक गिरावट आएको छ । परिणामतः मान्छे पारिवारिक चंगुलबाट बाहिर एकल जीवन बिताउन चाहन्छन् । त्यसो त आजको समाज अनुकरणीय समाज हो । अरूले जे ग-यो, त्यही गर्नु वा नक्कल गर्नु वर्तमान समाजको विशेषता हो । फलतः युवा जमात आफ्ना साथीभाइको पथ पछ्याउँदै वालिग हुनासाथ परिवारबाट अलग हुन मन पराउँछन् । 

एकल कि संयुक्त परिवार प्रणाली ठीक ? भन्ने प्रश्नको जवाफमा दुवै प्रणाली आफैँमा गलत नभएकाले कुनै एउटा प्रणाली नै सही भनेर ठोस उत्तर कुनै विद्यार्थीले दिएनन् । तर, दक्षिण एसियाली, मूलतः भारत, नेपाललगायत मुलुकबाट आएका पहिलो पिँढीका आप्रवासीका लागि भने यो निकै संवेदनशील मुद्दा हुनुपर्छ । माथि चर्चा गरिएका अनुभवलाई मध्यनजर गर्दै आफ्नो पारिवारिक जिम्मेवारी बहन गर्ने हो भने कम्तीमा दोस्रो पुस्तासम्मका लागि संयुक्त परिवार प्रणालीबाट आएका आप्रवासीको पारिवारिक संरचनामा अमेरिकी प्रभाव खासै नपर्ने देखिन्छ । पारिवारिक सम्बद्धता, सांस्कृतिक सहभागिता र आर्थिक समृद्धि नै पारिवारिक एकताका महत्वपूर्ण  स्तम्भ हुन् । (लेखक दी सिटी युनिभर्सिटी अफ न्युयोर्कमा प्राध्यापन गर्छन्)