जनताको पैसा

✍ बिप्लब पोख्रेल    1 year ago

महात्मा गान्धी हरेक छाकको भोजनसँगै महको पनि नियमपूर्वक सेवन गर्ने गर्थे । एकपटक उनी लन्डन यात्रामा गएका थिए । उनका साथमा मिरा बाई पनि गएकी थिइन् । तर, संयोगवश मिराले लन्डन यात्राका क्रममा गान्धीले सेवन गर्ने महको सिसी साथमा लान भुलिन् ।


गान्धीले भोजनसँगै जहिल्यै मह सेवन गर्ने भएकाले मिराले उतै अर्को सिसी मह खरिद गरिन् । जब गान्धी साँझको भोजन गर्न बसे, तब उनले महको नयाँ सिसी देखे । नयाँ सिसी देख्नासाथ झनक्क रिसाउँदै उनले मिरालाई भने– तिमीले महको यो नयाँ सिसी किन मगायौ ? 

गान्धीको रिस देखेर मिरा डराइन् । डराई–डराई उनले सानो स्वरमा भनिन्– बापु, मैले भारतबाट महको सिसी ल्याउन भुसुक्कै बिर्सेछु । त्यसैले हजुरको भोजनका लागि नयाँ सिसी मगाएकी हुँ । गान्धीले भने– तिमीले महको सिसी ल्याउन भुल्यौ त के भयो ? के एक दिन भोजनसँग मह सेवन नगर्दैमा म मर्थें कि के हो ? तिमीलाई त राम्रै थाहा हुनुपर्ने हो कि हामी जनताको पैसाबाट जीवन निर्वाह गर्छौं । र, जनताको एक–एक पैसा बहुमूल्य हुन्छ । जनताको त्यस्तो बहुमूल्य पैसा कहिल्यै फजुल खर्च गर्नु हुँदैन ।