कार्यालय सहयोगीको भरमा गोलन्जोरका पाँच विद्यालय

✍ बिप्लब पोख्रेल    1 year ago

गोलन्जोर गाउँपालिकामा रहेका पाँच विद्यालय कार्यालय सहयोगीका भरमा सञ्चालन भइरहेका छन् । शिक्षक नहुँदा शैक्षिक सत्र सुरु भएको दुई महिना बित्न लाग्दा पनि पठनपाठन हुन सकेको छैन । गोलन्जोर–१ को पाटनदेवी प्रावि, सत्यदेवी प्रावि, गोलन्जोर–४ को खोक्लिङ प्रावि, गोलन्जोर–६ को बन्दीपुर प्रावि र गोलन्जोर–५ को विजयछाप प्राविमा शिक्षक अभाव भएको हो । यी विद्यालयमा शून्य दरबन्दी भएपछि पठनपाठन हुन नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेले बताए । ‘शिक्षा सेवा आयोगको परीक्षाबाट ३४ शिक्षक बिदा भएपछि समस्या भएको छ,’ उनले भने ।


पाँचै विद्यालयमा कार्र्यालय सहयोगी मात्रै छन् । उनीहरूले विद्यालय खोल्ने गरेको भए पनि पठनपाठन हुन सकेको छैन । ‘बालविकास कोटाका शिक्षक र कार्यालय सहयोगी मात्र छन् । उनीहरूले पठनपाठन गराउन सक्दैनन्’, प्रमुख प्रशासकीय अधिकृत न्यौपानले भने, ‘विद्यालय त खुलेका छन्, तर पढाइ हुन सकेको छैन ।’ यहाँका अन्य विद्यालयमा पनि शिक्षकको अभाव छ । ‘अब चाँडै शिक्षक भर्ना गर्ने तयारी गरेका छौँ,’ न्यौपानेले भने ।

वडा कार्यालय पनि कर्मचारीविहीन
गोलन्जोरका वडा कार्यालय पनि कर्मचारीविहीन भएका छन् । गाउँपालिकाको सबै वडामा कर्मचारी नभएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । कर्मचारी समायोजनमा सचिवहरू अन्यत्र गएपछि वडा सचिवको अभाव भएको छ । ‘गाउँपालिका सातै वडा कार्यालय अहिले कार्यालय सहयोगीकै भरमा चलेका छन्,’ न्यौपानले भने । कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । एउटा सिफारिस लिन पनि दिनभर लाग्ने गरेको छ । तत्काल कर्मचारी नआए काम गर्न मुस्किल हुने उनले बताए ।