सुगा र बन्धनमुक्ति

✍ बिप्लब पोख्रेल    1 year ago

एक पण्डित नियमित रानीसामु कथा सुनाउने गर्थे । कथाको अन्त्यमा उनी सबैसित भन्ने गर्थे– रामको नाम जप, बन्धनबाट मुक्ति पाऊ । रानीको कोठामा एउटा सुगा पिँजरामा थुनिएको थियो । पण्डितको कथा टुंगिनासाथ हरेक दिन सुगाले जवाफ दिन्थ्यो– चुप लाग पण्डित, तिम्रा कथा झुटा हुन् । 


रानीको अगाडि नै सुगाले आफ्ना कथा झुटा हुन् भनेको सुन्दा पण्डितलाई रानीले के सोच्लिन् भनेर निकै डर लाग्थ्यो । पण्डितले आफ्ना गुरुको आश्रममा गएर गुरुलाई यथार्थ बताए । गुरुले यसको समाधान खोज्ने बताएर पण्डितलाई घर पठाई आफू भने सुगा थुनिएको स्थानमा पुगे । उनले सुगालाई सोधे– तिमी हरेक दिन कथा समाप्त भएपछि ‘चुप लाग पण्डित, तिम्रा कथा झुटा हुन्’ भन्छौ रे ! यसको कारण के हो ? 

साधु महाराज, म पहिला स्वतन्त्र थिएँ । एकपटक एउटा आश्रममा पुगेँ । त्यहाँ सबैले राम नाम जपिरहेका थिए । मैले पनि राम नाम बोल्न सिकेँ । यो देखेर एक सन्तले मलाई समातेर पिँजडामा बन्द गरे । एक व्यापारीले सन्तबाट मलाई किन्यो । व्यापारीले मलाई पहिलेभन्दा पनि मजबुत चाँदीको पिँजरामा बन्द गरिदियो । मुक्तिको सम्भावना झनै टाढियो । एक दिन व्यापारीले आफ्नो काम मिलाउन पिँजरासहितको मलाई राजालाई उपहार दियो । मैले राम राम बोल्ने हुनाले राजाले मेरो पिँजरा रानीको कोठामा झुन्ड्याउन लगायो । अब यस्तो अवस्थामा म कसरी ‘रामको नाम जप, बन्धनबाट मुक्ति पाऊ’ भन्न सक्छु त ? सुगाले गुरुसित आफ्नो मुक्तिको उपाय बताउन पनि आग्रह गर्‍यो । गुरुले भने– भोलि कथाको समयमा तिमी चुपचाप मरेजस्तै गरी पिँजरामा पल्टिरहनू । मरेको ठानेर रानीले तिमीलाई पिँजराबाट बाहिर निकाल्नेछिन् । त्यतिखेर मौका मिलाएर तिमी उठेर भाग्नू । 

अर्को दिन कथा वाचन भइरहँदा सुगा मरेतुल्य भएर पिँजरामा पल्टिरह्यो । कथा समाप्त भइसकेपछि पनि ऊ केही बोलेन । पण्डित खुसी भए । रानीलाई सुगा मरेको जस्तो लाग्यो । उनले पिँजराको ढोका खोलेर सुगालाई बाहिर निकालिन् । मौका पाउनासाथ सुगा भुर्र उडेर गयो । जाँदाजाँदै उसले भन्यो– सद्गुरुको नाम जप, बन्धनबाट मुक्ति पाऊ ।