विवादित डिएसपी खड्कामाथि छानबिन

✍ बिप्लब पोख्रेल    1 year ago

गैरकानुनी हिरासतभित्र दलित बालकको रहस्यमय मृत्युपछि विवादमा आएका इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुवास खड्का कारबाहीमा परेका छन् । छानबिनका लागि भन्दै उनलाई प्रदेश १ प्रहरी कार्यालय विराटनगर तानिएको छ । नाबालक मृत्युको विषय प्रहरी र राजनीतिक दलले सामसुम पार्न खोजे पनि खड्का अर्को विवादमा मुछिएपछि कारबाहीमा परेका हुन् ।


डिएसपीको कुर्सीमा अर्कै मानिस बसेको तस्बिर सामाजिक सञ्जालमा

इलाका प्रहरी कार्यालय बिर्तामोडस्थित डिएसपी खड्काको कार्यकक्षमा एकजना युवाले फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरे । टेबुलमा रहेको नेमप्लेटमा ‘डिएसपी सुवास खड्का’ उल्लेख छ, तर कुर्सीमा बसेर दमक घर बताउने ३० वर्षीय हर्कराज गुरुङले तस्बिर खिचेका छन् । गुरुङले सो तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेपछि डिएसपी खड्का छानबिनमा परेका हुन् । 

गुरुङले आफू प्रहरीको मान्छे भन्दै सर्वसाधारण र व्यापारीलाई थर्काउँदै हिँड्ने गरेको पीडितले प्रहरीलाई बताउँदै आएका थिए । तर, डिएसपी खड्काले उनलाई कारबाही गर्नुको साटो संरक्षण गरेर राखेका थिए । डिएसपी खड्काको कुर्सीमा बसेको फोटो सामाजिक सञ्जालमा राखेपछि प्रहरीले गुरुङलाई पक्राउ गरेको छ । प्रदेश प्रहरीले आफूलाई छानबिनमा बोलाउने सुइँको पाउनासाथ डिएसपी खड्काले गुरुङलाई पक्राउ गरेर कारबाहीबाट जोगिने प्रयास गरेका थिए । ‘के रहेछ कुरो भनेर बुझ्न हामीले डिएसपी खड्कालाई प्रदेशमा झिकाएका छौँ, अब उनको ठाउँमा कसलाई पठाउने भन्ने विषयचाहिँ टुंगो लागिसकेको छैन,’ प्रदेश १ प्रहरी प्रमुख डिआइजी केदार रिजालले भने ।

 बालक हत्या प्रकरण सामसुमको प्रयास

गत १ वैशाख राति हिरासतभित्रै मेचीनगर नगरपालिका–६ का १५ वर्षीय किरण कार्कीडोली दर्जीको रहस्यमय मृत्यु भएपछि डिएसपी खड्का विवादमा परेका थिए । दलित अधिकारकर्मीले उनलाई तत्काल कारबाहीको माग गरे पनि राजनीतिक दलहरूले संरक्षण गरेर राखेका थिए । नाबालकको मृत्यु सम्बन्धमा प्रदेश प्रहरी कार्यालय र राष्ट्रिय मानवअधिकार आयोगले छानबिन गरे पनि प्रतिवेदन सार्वजनिक भइसकेको छैन । हिरासतमा मृत्यु भएका नाबालक दर्जीलाई भारतीय नागरिक देखाउन डिएसपी खड्काले बिर्तामोड नगरपालिका–५ का वडाध्यक्ष राजेन्द्र लिङ्देन, सोही वडाका वडासदस्य लक्ष्मी बाँस्कोटा र अर्जुनधारा नगरपालिका–१० का वडाध्यक्ष वलदेव गोम्देनलाई मुचुल्कामा हस्ताक्षर गर्न लगाएका थिए ।