एक लाख डलरसहित भारतीय महिला पक्राउ

✍ बिप्लब पोख्रेल    1 year ago

काठमाडौँ — एक लाख अमेरिकी डलरसहित भारतीय नागरिक बन्दना घनश्याम सोनी पक्राउ परेकी छन् । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मुम्बई जान लागेका बेला पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले सुटकेसमा एक सय थानका एक हजार अमेरिकी डलर लुकाएकी थिइन् ।


विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारीका अनुसार बन्दनाले आफू नेपालको कुनै हाइड्रो कम्पनीमा काम गर्ने बताएकी छन् तर उनले आफूले काम गरेको प्रमाण भने पेस गरिसकेकी छैनन्। प्रहरीले थप अनुसन्धान तथा कारबाहीका निम्ति उनलाई राजस्व अनुसन्धान विभागमा बुझाएको छ। वैशाख २ गते पनि विमानस्थल प्रहरीले कतार एयरवेज हुँदै दोहा जान लागेका पोल्यान्डका २ नागरिकबाट १९ हजार ७ सय अमेरिकी डलर र १० हजार २ सय युरो बरामद गरेको थियो। यी दुवै जना अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज जाँच क्षेत्रबाट पक्राउ परेका थिए।