मल्लकालीन स्वरूपमा विद्यालय

✍ बिप्लब पोख्रेल    1 year ago

हिलेदेवी, रामेछाप — झट्ट हेर्दा भित्री गाउँ–बस्तीमा रिसोर्ट अथवा होम–स्टे खुलेको हो कि भन्ने लाग्छ । नजिक पुगेर नियाल्दा देखिन्छ– कक्षा कोठामा विद्यार्थी पढिरहेका । यो हो रामेछापको दुर्गम बस्ती सुनापति–३, हिलेदेवीस्थित पशुपति मावि ।


हेर्दैमा आकर्षक र कलात्मक देखिने विद्यालयमा छाना झिंगटीको छ । भुइँमा ढुंगा ओछ्याइएको छ । बिम, दलिन, झ्याल–ढोका, बार्दली–बरन्डा सबै काठकै । ‘विद्यालय पनि यस्तो कलात्मक बन्छ भनेर पहिलोपटक देख्न पाइयो,’ सुनापति गाउँपालिका अध्यक्ष धावा लामा भन्दै थिए, ‘अब हाम्रो स्वास्थ्य चौकी, गाउँपालिका कार्यालय पनि यस्तै बनाउन मन छ ।’

गत मंगलबार मात्रै उद्घाटन भएको विद्यालय हेर्नैका लागि टाढा–टाढादेखि गाउँले जम्मा भएका थिए । विद्यालय भवन निर्माणमा सहयोग गर्नेलाई गाउँलेले हृदयदेखि स्वागत गरे । भवन निर्माणमा इन्टर हेल्प जर्मनी, सुलन फर नेपाल र आरपी फाउन्डेशनले सहयोग जुटाएका हुन् । ‘विद्यालय साँच्चै नमुना बनेको छ,’ प्रअ तिलकबहादुर बलले भने, ‘विद्यालयमा जोडिएको परम्परागत शैली र सम्पदाका कारण यो भवन इतिहासको झल्को दिने खालको छ ।’ विद्यालयमा ४ सय १२ विद्यार्थी अध्ययनरत छन् । दुई तलाको ६ कोठे विद्यालय भवन निर्माण गर्न झन्डै डेढ वर्ष लागेको थियो । भवन झन्डै ८६ लाख रुपैयाँमा बनेको हो । ‘विद्यालय भवन जाडो र गर्मी दुवैलाई उपयुक्त हुने खालको छ,’ बलले भने, ‘त्यही भएर नयाँ भवनमा साना कक्षाका विद्यार्थी राखेर पढाउनेछौं ।’ सुनापति क्षेत्रमा दलित र तामाङ समुदायको बसोबास बाक्लै छ ।

‘गाउँलेबाट राम्रो जनश्रमदान भएको छ । स्थानीय काठ, झिंगटी र ढुंगा गाउँघरकै प्रयोग गरेका छौं,’ भवन निर्माण समिति अध्यक्ष तेज तामाङले भने, ‘भवन मल्लकालीन स्वरूपमा निर्माण भएको छ, यो क्षेत्रकै लागि विद्यालय भवन आकर्षणको केन्द्र बनेको छ ।’

नयाँ भवनमा पढ्न पाएको खुसियालीमा विद्यार्थीले नाचगान गरेर जर्मनीदेखि आएका विदेशी पाहुनाको स्वागत गरे । सुनापति गाउँपालिकाको हिलेदेवी पुग्न दोलालघाटबाट कच्ची बाटो हुँदै कम्तीमा ४ घण्टा कोसीपारि यात्रा गर्नुपर्छ ।

यो गाउँमा मात्र होइन । सुनापति गाउँपालिका–१, भदौरेमा शतलिंगेश्वर माविका २ वटा यस्तै नमुना भवन बनेका छन् । एउटा भवन ०७३ र अर्को ०७४ सालमा बनेको हो । दुई भवनमा गरेर १२ कक्षाकोठा छन् । ‘जस्ताको छानो भएको भवनमा पानी पर्दा विद्यार्थी पढ्न सक्दैनथे, गर्मीमा तातेर झन् बढी समस्या हुन्थ्यो,’ अभिभावक टेकबहादुर घिसिङले भने, ‘नयाँ भवन बनेपछि समस्या छैन, विद्यार्थीलाई घरमै राखेर पढाएजस्तो भएको छ ।’

यी भवनहरू सुलर फर नेपाल, रोटरी क्लब गुन्चबुर्ग र आरपी फाउन्डेसनको आर्थिक सहयोगमा क्रमशः ६० र ६५ लाख रुपैयाँमा बनेका हुन् । विद्यालयका प्रअ एकनाथ चौलागाईंका अनुसार यहाँ ५ सय विद्यार्थी अध्ययनरत छन् । त्यस्तै, उच्च मावितर्फ व्यवस्थापन, मानविकी र शिक्षा संकायको पढाइ हुन्छ ।

यो विद्यालय भवन पनि कोसीपारि नमुना भवनका रूपमा चिनिएको छ । यो मात्र होइन, काभ्रेको चौरीदेउराली–६ स्थित प्रभा माविको १० कोठे भवन पनि यस्तै ‘नमुना’ छ । ‘बालबालिका पढाउन यो भवन सोचेभन्दा बढी सुविधायुक्त छ,’ विद्यालयका प्रअ क्षितिज सुब्बाले भने, ‘गर्मीमा चिसो, जाडोमा तातो हुने वातानुकूलित भएकाले बालबालिका खुसीले पढ्न आउँछन् ।’

गाउँ–गाउँमा कलात्मक रूपमा बनाइएका नमुना विद्यालयका भवन आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा समेत पर्ने गरेका छन् । आरपी फाउन्डेसनको अगुवाइमा काभ्रे, रामेछाप, नवलपरासी, भक्तपुर, गोरखालगायत जिल्लामा १४ वटा यस्ता नमुना विद्यालय निर्माण भइसकेको सम्पदाविद् रवीन्द्र पुरीले बताए । नमुना विद्यालय भवनका रूपमा एक दशकअघि काभ्रेको फूलबारीस्थित मथुरापाटी मावि निर्माण गरिएको र त्यहाँबाट विद्यालय निर्माण अभियान अघि बढेको पुरीले बताए ।

‘यस्ता विद्यालय निर्माणमा हाम्रो दुई तिहाइ सहयोग हुन्छ, एक तिहाइ विद्यालय तथा स्थानीय समुदायको रहन्छ,’ पुरातत्त्वविद् पुरीले भने, ‘हाम्रो परम्परागत वास्तु, कलालाई जोगाउनुपर्छ भनेर गाउँ–गाउँमा यस्ता नमुना विद्यालय निर्माण अभियान थालेका हौं ।’

उनले सामुदायिक विद्यालयको स्तर सुधार्न विद्यार्थीले पढ्ने कक्षाकोठा, डेस्क–बेन्च र पठन सामग्री सहजै उपलब्ध हुनैपर्ने बताए । ‘हामीकहाँ सामुदायिक विद्यालयमा गरिबले मात्रै पढ्ने, निजीमा धनी मात्रै जाने भन्ने मान्यता स्थापित भइसकेको छ,’ उनले भने, ‘यसले धनी र गरिबको वर्गीकरण जानाजानी गरेको छ, यो भावनाले पनि हाम्रा सामुदायिक विद्यालय जहिल्यै कामचलाउ मात्रै हुन सक्छन् ।’