वाइडबडी असार १९ देखि जापानको ओसाका उड्ने

✍ बिप्लब पोख्रेल    1 year ago

काठमाडौँ — चीनको सांघाई हुँदै काठमाडौंदेखि जापानको ओसाकासम्म करिब १३ वर्ष व्यावसायिक उडान गरेको नेपाल वायुसेवा निगमले १२ वर्षपछि पुनः यसै सहरमा उडान सुचारु गर्ने भएको छ । मध्य माघदेखि वाइडबडी विमानमार्फत सातामा तीन दिन जापान उडान गर्ने घोषणा गरेको निगमले ५ महिनाको ढिलाईपछि मध्य असारदेखि भने सिधा उडान पक्कापक्की भइसकेको दाबी गरेको छ ।


जापान उडान अबचाहिँ पक्कापक्की भयो,’ निगमका सहायक प्रवक्ता नवराज कोइरालाले कान्तिपुरसँग भने, ‘असार १९ गतेदेखि निगमले ओसाकाको नियमित उडान गर्ने भएको छ ।’ उनका अनुसार, आइतबारदेखि टिकट बिक्री खुला गरिने छ । निगमले काठमाडौं-ओसाकाको एकतर्फी हवाई भाडा कम्तीमा ४५ हजार रुपैयाँ तथा दुईतर्फी ८० हजार रुपैयाँसम्म कायम हुने सहायक प्रवक्ता कोइरालाले बताए ।

हाल आठवटा अन्तर्राष्ट्रिय गन्तव्यमा मात्रै उडान गरिरहेको निगमले सातामा तीन वटा (मंगलबार, बिहीबार र शनिबार) उडान भर्ने जनाएको छ । काठमाडौंबाट बिहान २:३० मा निगमको वाइडबडी ओसाकाका लागि उड्ने छ भने त्यहाँको स्थानीय समयअनुसार दिनको ११:५५ ओसाका पुग्नेछ । ओसाकाबाट स्थानीय समयअनुसार १:५५ मा उडान गर्दै त्यही दिन साँझ ६ बजे काठमाडौं आइपुग्ने छ ।

गृष्मकालीन तालिका अनुसार काठमाडौं-ओसाका र ओसाका काठमाडौं उडान एकतर्फी ६ घण्टा ३० मिनेट हाराहारी हुने छ । यो रूटमा निगमले असार र साउनमा फ्रान्सबाट खरिद गरेर ल्याएका दुईटा ब्रान्ड-न्यू वाइड्वडी ए३३०-२०० बाट गर्ने छ । निगमसँग दुईटा एययरबसकै ए३२० न्यारोबडी विमान पनि छन् । तर, ती विमानबाट जापान उडान हुने छैन । यसअघि सन् २००७ सम्म निगमले चीनको सांघाई हुँदै ओसाकासम्म उडान गर्दै आएको थियो । त्यसबेला निगमले बोइङ ७५७ बाट यो रुटमा उडान गर्थ्यो । उक्त विमानबाट सिधा उडान गर्न नसकिने भएकाले सांघाईमा इन्धन भर्दै ओसाकाको उडान हुन्थ्यो । सन् २००७ पछी विमान अभाव र निगमको व्यवस्थापकीय कमजोरीका कारण जापान उडान स्थगन गरिएको थियो ।

सन् २००० मा जापानबाट काठमाडौं ४१ हजार ७० यात्रुले नेपाल यात्रा गरेका थिए । तीमध्ये निगमको विमानबाट २२ हजार हाराहारी यात्रु नेपाल आएका थिए । ‘ध्वजावाहकको सेवा नभएपछि यात्रुसंख्या घट्दै गएर सन् २०१५ मा १७ हजार ६ सय १३ यात्रुमा सीमित भयो,’ निगमले भनेको छ । ओसाकापछि सर्वाधिक नेपालीहरुको बसोबास भएको राजधानी टोकीयो नजिकैको नारितामा पनि उडान गर्ने यस्को योजना छ । त्यहाँ सातामा चार उडान थाल्ने भनिएको छ । निगमले जापानबाट वाषिर्क ५७ हजार सिट भर्ने लक्ष्य राखेको छ । जापानका लागि निगमले अन्तर्राष्ट्रिय जनरल सेल्स एजेन्ट -जीएसए) नियुक्त गरेको छैन । गत भदौंमा जीएसए छनौट प्रक्रिया थालेको निगममा ५ वटा कम्पनीले आवेदन दिएका थिए । तीमध्येबाट वेस्ट्रन एशोसिएट छानिएको थियो । तर, निगमले उक्त कम्पनीसँग सम्झौता गरीसकेको छैन ।

निगम स्रोतका अनुसार, त्यसताका उच्च राजनीतिक दबाबमार्फत गैर आवसिय नेपालीका पूर्वअध्यक्ष देवमान हिराचनलाई तत्कालका लागि ओसाकाको प्यासेन्जर सर्भिस एजेन्ट (पिएसए) का रुपमा नियुक्ति दिइएको छ । उनको नियुक्ती कानुनसम्मत नभएको निगमका एक अधिकारीले बताए ।

झण्डै ६ दशक लामो अनुभव सँगालेको ध्वजावाहक हाल चारवटा जेट विमानबाट ६ वटा मुलुक (भारत, मलेसिया, थाइल्याण्ड, हङकङ, दोहो र यूएई) का ८ वटा शहरमात्रै उडान गर्दै आएको छ । नेपाली वायुयानलाई ३९ वटा मुलुकमा उड्ने अधिकार छ ।




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल