जङ्गलमा युवायुवतीकाे शव भेटियाे

✍ बिप्लब पोख्रेल    1 year ago

कैलालीको घोडाघोडी नगरपालिका–३ मा रहेको कालिका सामुदायिक वनमा दुई शव फेला परेको छ । उक्त शव घोडाघोडी नगरपालिका–३ का २३ वर्षका शिवराज चौधरी र जोशीपुर गाउँपालिका पिपरकोटीकी २५ वर्षकी निर्मला चौधरीको रहेको खुलेकाे छ । उनीहरू दुवैले विष सेवन गरी आत्महत्या गरेको हुन सक्ने बताएकाे छ । 


शव परीक्षणका लागि धनगढी पठाएको सुखड इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए । शवमा किरा पर्न थालेकाले केही दिनअघि आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएकाे छ । 

केही दिनअघि एक महिलाले माइती पक्षलाई फोन गरी श्रीमानकाे कुटाइको पीडा सहन नसकी आत्महत्या गर्दैछु भन्ने जानकारी गराएकी भन्दै खोजी गरेका थिए । ती महिला यिनै निर्मला चौधरी हुन सक्ने अनुमान गरिए पनि यकिन नभएको भन्दै अनुसन्धान भइरहेको जनाएको छ ।