प्रविधिलाई उत्पादनसँग जोड्‌नुपर्छ : प्रधानमन्त्री

✍ बिप्लब पोख्रेल    1 year ago

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिलाई उत्पादनसँग जोड्नुपर्ने बताएका छन् । प्रविधिले छिटो र उन्नतस्तरको ज्ञान दिन भएकाले त्यसको सदुपयोग गरिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । 


राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान समयमा प्रविधिलाई नकारात्मक कुराको प्रचार गर्ने माध्यमको रूपमा प्रयोग भइरहेको बताए । ‘सामाजिक सञ्जाल र सूचना प्रविधिलाई गलत रूपमा उपयोग गर्नु मुन्तलामा ऐजेरु र धानमा साँवा पलाए जस्तै हो’ प्रधानमन्त्री ओलीले भने,‘त्यस कारण यस्ता प्रवृत्तिलाई निस्तेज पार्दै लैजानु पर्दछ ।’

प्रविधिको प्रयोग मार्फत समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न सहज बन्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

यस्तै,प्रधानमन्त्री ओलीले नेपाली समाजले सूचना प्रविधिमा छोटो समयमा नै फड्को मारेको बताए । उनले नेपालमा केही वर्ष अघिसम्म पनि मोबाइल चलाउनु अनौठो मानिने बताउँदै अहिले यो अत्यावश्यक वस्तु भइसकेको उल्लेख गरे ।

‘केही वर्ष अघिसम्म हङकङमा ड्राइभरले मोबाइल चलाएको कुरा सुन्दा नेपालीहरू अनौठो मान्थे तर अहिले आफ्नै घरमा बच्चालाई मोबाइलबाट जोगाउन गाह्रो भइसक्यो’ प्रधानमन्त्री ओलीले भने,‘मोबाइलसँग जोडिएको प्रविधि हाम्रो अभिन्‌न ‍अंग भइसक्यो । यो डिजिटल नेपालतर्फको यात्रा हो ।’