राष्ट्रपतिको ९ दिने भ्रमण द्विपक्षीय सल्लाहमै :परराष्ट्रमन्त्री

✍ बिप्लब पोख्रेल    1 year ago

‘राष्ट्रपति सीको नेपाल भ्रमण सम्भावित’ 

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीको यो साता सम्पन्न मित्रराष्ट्र चीनको ९ दिने भ्रमणलाई ‘अनावश्यक लम्ब्याइएको’ भनेर टिप्पणी गर्न नमिल्ने बताउँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘नेपाल–चीन कूटनीतिक तहको लामो परामर्शपछि यो कार्यतालिका तय भएको’ प्रतिक्रिया दिएका छन् ।


वैशाख ११ बाट सुरु भएको चीनको राजकीय यात्राको अन्त्यमा तिब्बतको ल्हासा पुगेकी राष्ट्रपति भण्डारी ‘हाइ अल्टिच्युड’को समस्याका कारण यात्रा छोट्ट्याएर आठौँ दिनमा (बुधवार) काठमाडौँ फिरेकी हुन् । ‘शारीरिक र मानसिक थकानसँगै अति धपेडीका कारण हाइ–अल्टिच्युडको समस्या देखा पर्न सक्ने चिकित्सकीय सुझाव रहेकै अवस्थामा राष्ट्रपतिलाई तिब्बत लगिएको थियो,’परराष्ट्रका एक अधिकारीले भने,‘ल्हासामा एकदिनको कार्यक्रम पुरा नहुँदै राष्ट्रपतिको स्वास्थ्य स्थितिमा समस्या देखिएकाले यात्रा छोट्ट्याइएको हो ।’

बिहीबार पररराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनपछि कान्तिपुरसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले ‘भ्रमण तालिका बीआरआई सम्मेलन, बेइजिङ र तिब्बतको नियमित कार्यक्रममा जोडिएर’ नौ दिनको बन्न गएको प्रतिक्रिया दिए ।

‘ल्हासामा हाइ अल्टिच्युडको कठिनाइबारे जानकार थियौँ । तैपनि चीनसँगको हाम्रो विकास, समृद्धि र सम्बन्धको उत्तरी ढोका तिब्बतको भ्रमण गर्नैपर्ने भएकाले यात्रा २ दिन थपिएको हो,’ज्ञवालीले भने ।

मन्त्री ज्ञवालीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको सम्भावना बढेर गएको बताउँदै ‘नेपालमा देखिएको राजनीतिक स्थायित्वले पनि यस्तो उच्चस्तरीय भ्रमणको आधारलाई थप स्पष्ट पार्ने’ कूटनीतिक जवाफ दिए । ‘चीनका राष्ट्रपतिले आफूले सुन्दर देश नेपालको भ्रमणलाई ठुलो महत्त्व दिएको र उपयुक्त समयमा भ्रमण गर्ने बताउनुभएको छ,’पत्रकार सम्मेलनमा ज्ञवालीले लिखित मन्तव्य राख्दै भने ।

नेपाल–चीनबीच विभिन्न ७ वटा दस्ताबेजमा हस्ताक्षर भएको जानकारी दिँदै ‘चीन सीमा वारपार सम्पर्क बढाउनका लागि थप नाकाहरु खेल्ने बारेमा छलफल अघि बढेको’ जानकारी दिइएको थियो ।

मन्त्री ज्ञवालीले यो मे महिना (जेठ १५) भित्रैमा तातोपानी नाका सञ्चालनमा आउन सक्ने स्थिति भए पनि नेपालतर्फका सडक निर्माण र संरचना व्यवस्थापनको काम भने बाँकी रहेको जानकारी दिए । उत्तरी छिमेकीसँग पारवहन तथा यातायात सम्झौता भए पनि यो दुरी, समय र खर्चका हिसाबमा ‘उपयोगी नदेखिएको’ भन्दै उठेको जिज्ञासामा मन्त्री ज्ञवालीले सांकेतिक बनेर भने,‘हाम्रा घरहरूमा पनि मुलढोकासँगै पछाडिपट्टि जस्केलो पनि राखिएको हुन्छ, विकल्प चाहिन्छ नै ।’

राष्ट्रपतिको भ्रमण अवसरमा चीनसँग द्विपक्षीय हस्ताक्षर भएका बुँदाहरूमा, पारवहन यातायात सम्झौताको प्रोटोकल, आर्थिक तथा प्राविधिक सहायतासम्बनधी सम्झौता तथा सांस्कृतिक सम्पदाको चोरी, अदृश्य उत्खनन र गैरकानुनी पैठारी तथा निकासी रोकथाम सम्बन्धी सम्झौता रहेका छन् ।

यसै गरी, विद्यमान चिनियाँ सहयोग अन्तर्गत मर्मत तथा सम्भार परियोजनाको हस्तान्तरण, गुणस्तर मापनसम्बनधी सहयोगको समझदारीपत्र र नेपालको उत्तरी भागमा जीविकोपार्जनको क्षेत्रमा सहयोगलाई सुदृढ गर्ने सम्बन्धी सम्झौता रहेको छ ।




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल