चिनी मिल र ब्यापारी एउटै हुँदा समस्या : सञ्चारमन्त्री

✍ बिप्लब पोख्रेल    1 year ago

काठमाडौँ — सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले चिनी उत्पादक र व्यापारी एउटै व्यक्ति हुनु नै मुख्य समस्या रहेको बताएका छन् ।
‘चिनी निर्यात,आयात वा उत्पादनसँग जोडिएको कुराको मुल समस्या हो,’ उनले भने,’ व्यापारीहरुले नेपाली उत्पादकसँग लिएर यसको बिक्री गरेका थिए, बाहिरबाट ल्याएर पनि गरेकै हुन्, तर मिलवाला र व्यापारी दुबै एउटै भएपछि कुरा बिग्रन्छ, त्यसैले यसतर्फ हामी गम्भीर छौं ।’


मिल मालिक चिनी व्यापारमा लागेपछि उसको सम्बन्धन किसान, कच्चापदार्थ, उत्पादन, उत्पादकबाट मात्र हुनु पर्ने उनले बताए । ‘जम्मैतिर गएपछि जे जे अवसर आयो, त्यही त्यही गर्ने भयो, त्यही भएर यो एक खालको अराजकता थियो, हामीले व्यवस्थित गर्न र नेपाली किसानलाई पनि राहत पुग्ने गरी आयातमा कोटा निर्धारण गरेका हौं, प्रतिबन्ध गरेको होइन ।’

उनका अनुसार देशलाई करिब २ लाख ५० हजार मेट्रिक चिनी चाहिन्छ । तर देशमा १ लाख ८० हजार मेट्रिक टनमात्र उत्पादन हुन्छ । ‘यो हेर्दा करिब ७० हजार मेट्रिक टन आवश्यक देखिन्छ, त्यो पनि खास सिजन, छठ, दीपावलीको बेला बढी खपत हुन्छ’ उनले भने ।