ट्रमा सेन्टरमा बिरामी लठ्याउने तीन मेसिन एकैसाथ बिग्रिँदा अप्रेसन नै रोकियो

✍ बिप्लब पोख्रेल    1 year ago

राष्ट्रिय ट्रमा सेन्टरमा बिरामी लठ्याउने तीनवटा उपकरण (एनेस्थेसिया मेसिन) सोमबार एकैसाथ बिग्रिएपछि ७५ प्रतिशत जटिल अप्रेसन रोकिएको छ । आइतबारसम्म सञ्चालनमा रहेका चारमध्ये तीनवटा मेसिनले अचानक सोमबार बिहानदेखि काम नगरेपछि अधिकांश अप्रेसन स्थगित गरिएको ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद यादवले बताए ।


सेन्टरमा दैनिक २० मेजर अप्रेसन हुने गर्छन् । एउटा मेसिनबाट चार–पाँचवटा अप्रेसन मात्रै सम्भव हुन्छ । तत्काल मेसिन नबने अप्रेसनको पालोमा बसेका धेरै बिरामी प्रभावित हुनेछन् । मेसिन खरिद गरिएको कम्पनीका प्राविधिकले मर्मत गर्नुपर्ने हुन्छ । सम्बन्धित भारतीय कम्पनीले मंगलबार प्राविधिक पठाउने आश्वासन दिएको निर्देशक यादवले बताए ।

‘एनेस्थेसिया मेसिन बिग्रिएको खबर स्वास्थ्य मन्त्रालय र मेसिन खरिद गरिएको भारतस्थित कम्पनीलाई गरिसकेका छौँ,’ यादवले नयाँ पत्रिकासँग भने, ‘भारतबाट प्राविधिक टोली आएपछि मेसिनको गडबडी पहिल्याउनेछ । आशा गरौँ, छिटै मर्मत होला ।’

मेसिनमा ठूलै समस्या आएको भए मर्मत समय बढी लाग्ने र खर्चसमेत मन्त्रालयले निकासा गर्नुपर्ने हुन सक्छ । यो अवस्थामा विभिन्न प्रक्रिया अपनाउनुपर्दा मेसिन प्रयोगमा ल्याउन ढिला हुने देखिन्छ । सबै मेसिन पाँच वर्ष पुराना हुन् । निर्देशक यादवले मेसिन बनेपछि पुरानै पालोअनुसार बिरामीको अप्रेसन गरिने बताए ।

उपकरण र चिकित्सकको निगरानी गर्न सरकारी अस्पतालमा सिसी क्यामेरा राखिने, मन्त्रालयका उच्च अधिकारीले जहाँ बसेर पनि हेर्न सक्ने

१ अधिकांश समय उपकरण नचल्ने र चिकित्सक पनि उपलब्ध नहुने समस्या बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघअन्तर्गतका १७ अस्पतालमा सिसी क्यामेराबाट निगरानी गर्ने भएको छ । अस्पतालमा भएका सबै गतिविधि मन्त्रालयका उच्च अधिकारीले जहाँ बसेर पनि हेर्न सक्ने गरी सिसी क्यामेरा जडान गर्न लागिएको स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बताए ।
२ ‘महँगा उपकरण सञ्चालनमा नल्याउने र बिरामीलाई निजी अस्पतालमा जान बाध्य बनाउने परिपाटी विकास भएको देखियो । अब संघअन्तर्गतका १७ अस्पतालमा सिसी क्यामेराबाट निगरानी गर्छौँ,’ मन्त्री उपेन्द्र यादवले भने, ‘उपकरण कसरी चलिरहेका छन्, चिकित्सकको काम र जनताको सेवा एप्लिकेसनमार्फत मन्त्रालयमा प्राप्त हुनेछ ।’
३ ल्याब, सिटिस्क्यान, एमआरआई र एक्स–रे रुम तथा निर्देशकको कार्यकक्षमा सिसी क्यामेरा जडान हुनेछ । मन्त्री, सचिव र उच्च अधिकारीले जुनसुकै वेला मोबाइलबाटै निगरानी गर्न सक्नेछन् । सरकारको नीति तथा कार्यक्रममै समेटेर कडा कार्यक्रम ल्याउनुपर्ने उपसचिव पुष्कर नेपालले बताए ।