प्रदेश १ मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा

✍ बिप्लब पोख्रेल    1 year ago

धनकुटाबासीले प्रदेश १ को राजधानी धनकुटामा हुनु पर्ने माग राख्दै आएअनुसार प्रदेश सरकारले मुख्यमन्त्रीको कार्यालय राख्ने भएको छ । अस्थायी मुकाम विराटनगरमा मंगलबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्रीको सम्पर्क कार्यालय र यातायात कार्यालय धनकुटामा राख्ने निर्णय गरेको हो ।


साविक क्षेत्रीय प्रशासकको कार्यालयलाई सम्पर्क कार्यालयको रुपमा स्थापना गरिने आन्तरिक मामिल तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए । तेह्रथुम, धनकुटा र संखुवासभा हेर्ने गरी उक्त जिल्लामा यातायात सेवा कार्यालय स्थापना गर्ने निर्णय भएको उनले बताए । यसअघि इटहरीबाट यातायातको काम हुँदै आएको थियो ।

राजधानी माग हुँदै आएको धनकुटा, धरान, इटहरी, विराटनगर र गोठगाउँ क्षेत्रलाई समेटेर प्रदेशका कार्यालयहरु विस्तार गर्ने योजना बनाएको छ । यसअघि धनकुटामा प्रदेश स्तरीय शिक्षा र स्वास्थ्य कार्यालय स्थापना भइसकेको छ । धरानमा वन निर्देशनालय स्थापना गरिएको छ । इटहरीमा संसद सचिवालयको कार्यालय ल्याउने तयारी भइरहेको छ । प्रदेशको नाम र राजधानी तोकिएपछि सचिवालय इटहरीमा सार्ने प्रदेश सरकार स्रोतले बताएको छ ।