हुरीपीडितलाई वर्षात् अगावै आवासको व्यवस्था गर्न निर्देशन

✍ बिप्लब पोख्रेल    1 year ago

काठमाडौँ — राज्य व्यवस्था तथा सुशासन समितिले मधेसको बारा, पर्सा र सर्लाहीका हावाहुरीपीडितका लागि वषर्ात अगावै आवासको व्यवस्था गर्न मंगलबार सरकारलाई निर्देशन दिएको छ । समितिका सभापति शशि श्रेष्ठको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले पीडित परिवारलाई समेत सहभागी गराएर आवास निर्माणलाई तीव्रता दिन निर्देशन दिएको हो ।


सरकारले हावाहुरीपीडितका लागि नेपाली सेनामार्फत १ हजार ४ सय ५३ घर निर्माण गर्ने योजना अघि सारिसकेको छ । गत चैत १७ गते राति आएको हावाहुरीले बारा र पर्सामा ३२ जनाको मृत्यु भएको थियो । समितिले गरेको स्थलगत निरीक्षणपछि तयार पारेको प्रतिवेदन सार्वजनिक गर्दै श्रेष्ठले वर्षात् अगाडि पीडितलाई छाना नदिए उनीहरूको दैनिक जीवन कष्टकर हुने बताइन् । समितिले दिएको निर्देशनमा भनिएको छ, ‘चुलो फरक-फरक गरेर अलग भए पनि एउटै घरमा बसेको परिवारका लागि वैकल्पिक व्यवस्था मिलाउनुपर्ने देखिन्छ ।’ गृहमन्त्री रामबहादुर थापा, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले आवास निर्माणको योजनाबारे बैठकमा जानकारी गराएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, रक्षालगायतका सरोकारवाला मन्त्रालयका सचिव र सेनाका प्रतिनिधिले आवास निर्माणको प्रगति जानकारी गराएका थिए । विपद् व्यवस्थापन र राहत वितरणका लागि संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा आआफ्नो अधिकार क्षेत्र तोक्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ । राहत र सरकारी रकम खर्च गर्ने सिलसिलामा होडबाजी देखिएपछि उक्त निष्कर्ष निकालिएको हो ।