सरकार सबै क्षेत्रमा असफल :कांग्रेस

✍ बिप्लब पोख्रेल    1 year ago

काठमाडौँ — राष्ट्रियसभामा कांग्रेसका नेता सुरेन्द्र पाण्डेले विगत सरकार सबै क्षेत्रमा असफल रहेको आरोप लगाएका छन् । वर्षे अधिवेशन प्रारम्भ भएको पहिलो दिन राष्ट्रियसभा बैठकमा बोल्दै उनले शान्ति सुरक्षा, विकास निर्माण, सामाजिक क्रियाकलाप सबै तिर सरकारको प्रस्तुति निराशाजनक रहेको बताए ।


‘सरकारका एक वर्षको क्रियाकलाप हेर्ने हो भने सबैतिर, निराशा र असन्तुष्टि छ,’ उनले भने ‘कोही सन्तुष्ट छन् भने प्रधानमन्त्रीको अरिंगाल समूह ।’ उनले आम मानिस मात्रै होइन, मानव अधिकार आयोगदेखि प्रेस जगतसम्म सरकारको गतिविधिबाट निराश रहेको बताए । दुई तिहाइको बहुमत, राजनीतिक स्थिरता र विगतका प्रधानमन्त्रीहरूले भोग्नु परेको जस्तो चुनौती नहुँदापनि सरकारले जनअपेक्षा अनुरूप दायित्व निर्वाह गर्न नसकेको उनको भनाइ थियो । ‘सात प्रदेश र अधिकांश स्थानीय तहको साथ सरकारलाई छ, प्रतिपक्षीले पनि रचनात्मक भूमिका नै खेलेको छ । तर, सरकारले समृद्धिको यात्रामा गति लिएको जस्तो देखिएको छैन,’ उनले भने ‘आगामी वर्ष त्यस्तो नहोस् ।’

उनले भ्रष्टाचार विरुद्ध शून्य सहनशिलताको विषय भाषणमा मात्र सीमित भएको भन्दै भ्रष्टाचारको गन्ध सबैतिर महसुस गरिएको आरोप लगाए । ‘राष्ट्रिय गौरवका योजनाहरूमा भ्रष्टाचार देखिदैंछ । कमिसनको नाममा मेलम्चीको काम रोकिएको छ । आफैले बनाउने भनिएको बुढी गण्डकी परियोजना बिना प्रतिस्पर्धा कुनै विदेशी कम्पनीलाई दिन खोजिएको छ,’ सरकारलाई आक्षेप लगाउँदै उनले भने ‘वाइडबडी विमान खरिद प्रकरण सेलाउन खोजिएको छ ।’ उनले वाइडबडी प्रकरणमा जोसुकै संलग्न भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे । विभिन्न समयमा स्रोत नखुलेको भन्दै राष्ट्र बैङ्कले रोकेका रकमहरू पनि धमाधम छोड्न लागिएकाले पनि संशय बढाएको उनले उल्लेख गरे ।

विभिन्न निकायहरू प्रधानमन्त्री कार्यालय मार्फत ल्याएर सरकारले सिंहदरबारको अधिकार गाउँ गाउँमा होइन, कि सिंहदरबारभित्र भएका अधिकारपनि प्रधानमन्त्री कार्यालयमा सीमित गर्न खोजेको उनको भनाइ थियो । सेना परिचालनको राष्ट्रिय सुरक्षा परिषद्को अधिकार आफ्नो हातमा लिन खोज्नु साथै संवैधानिक निकायहरूलाई प्रधानमन्त्रीको लाचार छाया बनाउने प्रयत्न भइरहेको उनले उल्लेख गरे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीबाट बेला बेला आउने व्यंग्यात्मक अभिव्यक्तिको पनि आलोचना गरे । ‘उखान र भाषण धेरै सुन्यौँ । तर, त्यस अनुसारको काम भएन,’ उनले भने ‘भारतबाट आउने पानी जहाज र चीनबाट आउने रेलको सपनाले मुलुकको शान्ति सुरक्षा हुन सकेन । निर्मला हत्या काण्डका दोषी पक्राउ नपर्नुले सरकारमाथि कालो पोतिएको छ ।’

उनले प्रधानमन्त्रीको बोलीले पदको गरिमा घट्दै गएको भन्दै त्यसतर्फ आत्मसमिक्षा गर्न आग्रह गर्दै भने–‘सरकारको नेतृत्व गर्दैमा देश चल्दैन । सामाजिक मर्यादा र संस्कारको नेतृत्व पनि गर्न सक्नुपर्छ ।’




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल