मातातीर्थ औशीको अवसर पारेर आयो ‘आमा’ गीत

✍ बिप्लब पोख्रेल    1 year ago

काठमाडौं – मातातीर्थ औशी अर्थात आमाको मुख हेर्ने दिन नजिँकिदै गर्दा आमाको महत्व र योगदानको चर्चा गरिएको गीत बजारमा भित्रिन थालेका छन् । यस्तैमा गायिका दीपा पन्तले पनि ‘आमा’ बोलको नयाँ गीत सार्वजनिक गरेकी छन् । गीतमा दीपालाई गायक भुषण खतिवडाले स्वरमा साथ दिएका छन् ।


पदमबहादुर निरौलाको शब्द, भुषण खतिवडाकै संगीत रहेको गीत कभर भर्सनको भिडियोसहित सार्वजनिक भएको छ । भिडियोमा पनि गायक खतिवडा र गायिका पन्त नै देखिएका छन् । रवि बस्नेतको छायाँकन रहेको भिडियोमा राजकुमारले सम्पादन गरेका हुन् । गीतमा निकै मार्मिक शब्दहरु प्रयोग भएका छन् ।

‘हामीलाई यो संसार देखाउने आमाको स्थान हाम्रो जीवनमा सबैभन्दा माथि हुन्छ’ दीपाले भनिन्, ‘आमाको महत्व बुझाउन गीत ल्याएकी हुँ ।’ गीत निकै राम्रो बनेकोले सबैको रोजाइमा पर्ने उनले सुनाइन् ।