पोखरा विश्वविद्यालयका ४४ विद्यार्थीले गरे परीक्षा बहिष्कार

✍ बिप्लब पोख्रेल    1 year ago

लेखनाथ — डेढ महिना ढिलो गरी सोमबारबाट सुरु भएको पोखरा विश्वविद्यालयको स्नातक तह परीक्षा ४४ विद्यार्थीले बहिष्कार गरेका छन् । पोखराको ढुंगेपाटनमा रहेको केन्द्रीय क्याम्पसमा स्वास्थ्य विज्ञान संकाय अन्तर्गत बीपीएच पहिलो वर्षका ४० र बीएमएलटीका ४ विद्यार्थीले परीक्षा बहिष्कार गरेका हुन् ।


बीपीएच पहिलो सेमेस्टरका सम्पूर्ण विद्यार्थीले एनाटोमी एन्ड फिजियोलोजीको परीक्षा दिएनन् । उनीहरूले भने बहिष्कार गरेको नभई आफूहरूलाई परीक्षा दिनबाट वञ्चित गराइएको दाबी गरेका छन् ।

‘डी प्लस’ विद्यार्थीलाई परीक्षामा सामेत गराउन नहुने पक्षका विद्यार्थी आइतबारदेखि नै परीक्षा केन्द्रमा रिले अनसनमा थिए । आन्दोलनरत विद्यार्थीले परीक्षामा अवरोध सिर्जना गर्ने देखेपछि विश्वविद्यालयले सोमबार बिहानैदेखि सुरक्षाकर्मी परिचालन गर्यो । परीक्षा केन्द्र पुगेका आन्दोलनरत विद्यार्थीले नाराबाजी गरे । प्रहरीले ११ विद्यार्थीलाई पक्राउ गरेर परीक्षा सुरु गरायो । बिहान ७ बजे हुने भनिएको परीक्षा साढे सातमा सुरु भयो ।

परीक्षा दिन गएकी बीपीएच पहिलो वर्षकी विद्यार्थी अस्मिता अधिकारी विश्वविद्यालयको तनावपूर्ण अवस्था देखेर बेहोस भइन् । उनी बेहोस भएपछि अन्य परीक्षार्थीले ‘प्रहरी घेराभित्र परीक्षा दिन नसक्ने’ भन्दै नाराबाजी गरे । ‘विद्यार्थीभन्दा प्रहरी धेरै थिए,’ परीक्षार्थी स्वेता रानाभाटले भनिन्, ‘बाहिर आन्दोलन छ, भित्र कसरी परीक्षा दिने ?’

परीक्षा केन्द्रभित्र हतियारसहितका प्रहरी देखेपछि परीक्षा दिने वातावरण नभएको उनले बताइन् । अर्का परीक्षार्थी अमन केसीले ७:४५ बजे परीक्षा केन्द्र प्रवेश गर्न खोज्दा प्रहरीले अवरोध गरेको आरोप लगाए । ‘नियमित परीक्षा सुरु भएको आधा घण्टापछिसम्म हलमा प्रवेश गर्न पाइन्छ,’ उनले भने, ‘हामीलाई नियोजित रूपमै प्रवेश गर्न दिइएन ।’ परीक्षार्थी हिरा पहारीले इन्जिनियरिङको भवनमा पूर्वनिर्धारित परीक्षा सोमबार अर्कै भवनमा हुँदा विद्यार्थी अलमलमा परेको बताइन् ।

परीक्षा केन्द्राध्यक्ष अर्जुन गौतमले विद्यार्थीलाई पटकपटक आग्रह गर्दा पनि परीक्षा केन्द्र प्रवेश नगरेको बताए । ‘उनीहरूलाई पहिला परीक्षा नै हुँदैन भन्ने भ्रम पर्‍यो,’ उनले भने, ‘प्रवेश गर्ने समयभित्र नआएपछि छिराउन सकिएन ।’ परीक्षार्थी पहिला आफैँ परीक्षा केन्द्र प्रवेश नगरेको र पछि माग गर्दा समय सकिएको उनले जनाए ।

बीपीएचका ४० विद्यार्थीले परीक्षा दिन पाउने व्यवस्था मिलाइदिन माग गर्दै विश्वविद्यालयमा निवेदन बुझाएका छन् । परीक्षा नियन्त्रक भरतराम ढुंगाना विश्वविद्यालयको नियमले छुट भएको परीक्षा अर्को सेमेस्टरमा मात्रै दिन पाउने व्यवस्था भएको बताउँछन् । भन्छन्, ‘तत्कालै पुनः परीक्षाको व्यवस्था गर्न मिल्दैन ।’

तीनपटक मिति परिवर्तन भएर सोमबारदेखि व्यवस्थापन, स्वास्थ्य विज्ञान र मानविकी तथा सामाजिकशास्त्रको स्नातक तहको परीक्षा सुरु भएको हो । केन्द्रीय क्याम्पसमा १ सय ५४ मध्ये १ सय १० विद्यार्थी परीक्षामा सामेल भए ।