कोरियाको भिसा थन्क्याएर: बिएड पढ्दै ‘बोयर’ बाख्रापालनतिर

✍ नारायण पोख्रेल    1 year ago


सुर्खेत: ‘पढ्दापढ्दै विदेश जाने रहर चल्यो। इन्डियन आर्मीमा भिँड्ने तयारी पनि थियो,’ तीन वर्षअघिको योजना सुनाए कमल बिसीले। 


गाउँका अधिकांश युवाको लर्को वैदेशिक रोजगारतिरै थियो। उनले पनि कोरियाको सपना देखे। र, काठमाडौं पुगेर थाले भाषा कक्षामा धाउन।
सँगसँगै भारतीय सेनामा पस्ने आँट पनि पलायो। छनौटको अन्तिम चरणसम्म पनि पुगे उनी। त्यता असफल भएपछि कोरियन भाषामा जोड दिए। परीक्षा पास गरे। भाषा परीक्षा पास गरेको एक वर्षपछि भिसा पनि आयो।

भिसा हातमा लागेपछि घर फर्केका उनको वैदेशिक रोजगारको यात्रामा फुलस्टप लाग्यो। 


र, उनको कदम गाउँमै केही गरौ भन्ने योजनातिर अघि बढ्यो। ‘आधुनिक बोयर बाख्रा फार्म’ दर्ता गरेर व्यवसाय सुरु गरे उनले। 
सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरदेखि करिब ३२ किलोमिटर दुरीमा रहेको भेरीगंगा नगरपालिका–१३ रामघाटमा उनको फार्म छ।
‘आफुसँगैका साथीभाइहरु कोही जागिरे भइसके, कोही कमाउने भइसके, सबै आफ्नो बाटो लागिसके। घरमा आम्दानीको स्रोत पनि केही नाई, कसैको रोजगार पनि नाई, सबै बेरोजगारै बेरोजगार। गाउँमै केही गरेर आफ्नो पढाईलाई पनि निरन्तर ‘कन्टिन्यु’ गरौँ भन्ने सोच आयो अनि बाख्रा फर्म सुरु गरेँ,’ कमलले सुनाए।