यूएईसँग शून्य दरमा श्रमिक लैजाने सहमति

✍ नारायण पोख्रेल    1 year ago

नेपालबाट शून्य लागतमा नेपाली श्रमिक लैजाने विषयमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच नयाँ श्रम सम्झौता गर्ने सहमति भएको छ । नेपाल र यूएईका प्राविधिक टोलीबीच काठमाडौँमा लगातार भएको छलफलपछि यूएईले नेपाली श्रमिक लैजाँदा लाग्ने सम्पूर्ण खर्च त्यहीँका रोजगारदाता कम्पनीले नै तिर्ने गरी नयाँ श्रम सम्झौता गर्ने सहमति भएको हो ।

दुई देशका प्राविधिक टोलीबीच सम्पन्न छलफलले नेपाल र यूएईसँग नेपाली श्रमिक लैजाने विषयमा सन् २००७ मा भएको श्रम सम्झौतालाई खारेज गर्दै नयाँ श्रम सम्झौता गरेर श्रमिक लैजाने विषयमा सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।


दुई देशका प्राविधिक टोलीबीच छलफल गरेर तयार गरिएको अन्तिम मस्यौदा आ–आफ्नो देशको मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि मात्रै दुई देशबीच सम्झौता हुनेछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका दुई देशका प्राविधिक टोलीले सबै विषय टुङ्गो लगाइसकेकाले यही महिनाभित्र मन्त्रिस्तरीय सम्झौता गर्ने तयारी भइरहेको छ ।

श्रम, मन्त्रालयका सहसचिव एवं नेपालको तर्फबाट प्राविधिक टोलीका संयोजक रामप्रसाद घिमिरेले पुरानो सम्झौता खारेज गरी विश्वपरिवेश अनुसार श्रमिकमैत्री नयाँ श्रम सम्झौता गर्ने विषयमा सहमति भएको जानकारी दिनुभयो ।

उहाँले नेपाली श्रमिक यूएई पठाउने सम्बन्धमा नेपाल र यूएई सरकारका प्राविधिक टोलीबीच दुई दिनसम्म भएको छलफलले श्रमिक आपूर्तिकर्ता देशका रोजगारदाताले नेपाली श्रमिक विदेश जाँदा लाग्ने सम्पूर्ण खर्च बेहोनुपर्ने गरी सहमति भएको जानकारी दिनुभयो ।
गोरखापत्रबाट