असहायलाई सहयोग

✍ बिप्लब पोख्रेल    1 year ago

प्रेरक प्रसंग

स्कुल छुट्टी भयो । सबै बालबालिका हाँस्दै, खेल्दै, दौडँदै, उफ्रँदै स्कुलबाट निस्किए । गेटनजिकै एकजना मानिस सडक किनारमा सुतिरहेका थिए । कसैले उनीमाथि ध्यान दिएनन् । सबै बालबालिका आआफ्नै धुनमा घरतिर लागे । तिनैमध्ये एक बालकले ती मानिसलाई देखे । सडक किनारमा त्यसरी सुतिरहेको देख्दा उनलाई अचम्म लाग्यो । उनी तिनको नजिकै गए । उनी बिरामी थिए । उनले बालकसित पानी मागे । बालकले नजिकैको घरबाट पानी ल्याइदिए । बिरामीले पानी पिए र पुनः पहिलेजस्तै सुते । बालक पानीको भाँडो फिर्ता गरेर खेल्न गए ।


साँझ ती बालक घर फर्किए । घरमा उनका पिता एक सज्जनसित कुराकानी गर्दै थिए । सज्जन भन्दै थिए– आज अपराह्न स्कुलबाहिरको सडकमा एक बिरामीको मृत्यु भएछ । सज्जनको कुरा सुनेपछि बालक झसंग भए । उनी पिताको नजिकै गए र भने– बाबा, सडकमा मृत्यु भएको भनेको मान्छेलाई आज मैले भेटेको थिएँ । उनी बिरामी भएर सडकमा सुतिरहेका थिए । उनले मसँग पानी मागे । मैले नजिकैको घरबाट पानी ल्याएर खुवाएँ । बालकका पिताले सोधे– पानी खुवाएपछि तिमीले के ग-यौ ? बालकले भने– त्यसपछि म खेल्न गएँ । बालकका पिता गम्भीर भए र भने– तिमीले बिरामीलाई पानी खुवाएर निकै राम्रो काम ग-यौ । तर, एउटा बिरामीलाई बाटामा त्यत्तिकै छाडिदिएर ठूलो गल्ती ग-यौ । तिमीले उसलाई किन अस्पताल पु-याएनौ ?
पिताको प्रश्नले बालक अक्कनबक्क परे । उनले डराई–डराई प्रश्न गरे– म एक्लैले उनलाई कसरी अस्पताल पु-याउन सक्थेँ र ? पिताले भने– हो, तिमी एक्लैले केही गर्न सक्दैनथ्यौ । तर, स्कुलमा फर्केर गुरुहरूलाई यसबारे खबर गर्न सक्थ्यौ । घर आएर मलाई नै भनेको भए पनि म केही व्यवस्था मिलाउन सक्थेँ । हेर, कोही असहायलाई देखेर पनि उसलाई सहयोग नगर्नु पशुता हो । अबदेखि तिमीले कुनै रोगी, घाइते या दुःखीलाई भेट्यौ भने सक्दो सहायता गर्न नभुल्नू है ! बालकले हुन्छ भन्दै मुन्टो हल्लाए ।