४ वर्षमा ४५ हजार परकम्प

✍ बिप्लब पोख्रेल    2 years ago

काठमाडौँ — २०७२ सालको गोरखा भूकम्पपछिका चार वर्षमा ४५ हजारवटा परकम्प आएका छन् । भूकम्पविद्हरूका अनुसार अहिले आइरहेका कम्पनहरू भूकम्प नभएर ‘आफ्टरशक’ अर्थात् परकम्पन हुन् ।


२०७२ वैशाख १२ मा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । अमेरिकी वैज्ञानिक संस्था यूएसजीएसले भने उक्त भूकम्पलाई ७.८ म्याग्निच्युड भनेको छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक एवं भूकम्पविद् डा. सोमनाथ सापकोटाका अनुसार २०७२ वैशाख १२ को भूकम्पले मर्स्याङदीदेखि सुनकोसी नदीसम्मको जमिनभित्र हल्लाएर धाँजाधाँजा पारेको थियो । अहिले तिनै स्थानमा परकम्प गइरहेका हुन् । बुधबार बिहान दुईपटक धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर गएका पनि भूकम्प नभई परकम्प नै हुन् ।

चार वर्षका बीचमा कुनै महिना दिनहुँजसो धेरै संख्यामा र कुनै महिना दिन बिराएर परकम्प आएको राष्ट्रिय भूकम्पन तथा अनुसन्धान केन्द्रले जनाएको छ । ‘१५० किलोमिटर लम्बाइ र ५० किमि उत्तरदक्षिण चौडाइको ब्लकमा धेरै धाँजा बनेका थिए,’ सापकोटाले बुधबार कान्तिपुरसित भने, ‘त्यही भएर लमजुङदेखि रामेछापसम्म पछिल्ला तीन वर्षमा परकम्प आइरहेका छन् ।’ ठूला भूकम्पपछि २०औं वर्षसम्म पनि परकम्प आइरहने भएकाले सामान्य रूपमा लिनुपर्ने उनको भनाइ छ । उत्तरमा तिब्बतसम्मै परकम्प आएको देखिन्छ ।

नेपालमा १९९० र २०४५ सालका शक्तिशाली भूकम्पपछि पनि धेरै वर्षसम्म परकम्प गएका थिए । केन्द्रका भूकम्पविद् भरत कोइरालाका अनुसार जति ठूलो भूकम्प जान्छ, त्यति नै धेरै परकम्प लामो समय आइरहन्छन् । ‘२०७२ अघिका परकम्पको हामीसँग रेकर्ड त छैन,’ कोइरालाले भने, ‘ती ठूला भूकम्पको धेरै पछिसम्म परकम्प आएका चाहिँ थिए ।’ महानिर्देशक सापकोटाका अनुसार तीन वर्षयता परकम्पको दूरी भने घट्दैगएको छ ।

‘दुई भूकम्पबीचको दूरी र निरन्तरता घट्दै गएको देखिन्छ,’ उनले भने, ‘२०७२ भन्दा अघिको जस्तो नर्मल अवस्था आउन भने धेरै समय लाग्न सक्छ ।’ उनले २०४५ सालमा उदयपुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएपछि केही वर्षअघिसम्म पनि पूर्वी क्षेत्रमा परकम्प आइरहेजस्तै गोरखा भूकम्पपछि लमजुङदेखि रामेछापसम्मपरकम्प जारी रहेको बताए ।

भूकम्पको परिमाण, निरन्तरता र जोखिमका हिसाबले २०७२ को भन्दा पूर्ववत् अवस्था बन्न भने धेरै समय कुर्नुपर्ने हुन्छ । सापकोटाका अनुसार २०७२ को भूकम्पभन्दा अघि साधारणतया स(साना ४ वटा भूकम्प आइरहे पनि अहिले महिनामै २४ वटाभन्दा बढी परकम्प आइरहेका छन् । ‘त्यसको अर्थ अहिले परकम्प आउने क्रम जारी नै छ,’ उनले भने, ‘अहिले महिनापिच्छे धेरैवटा परकम्प आइरहेका छन्, विस्तारै वर्षमाएकपटक आउला अनि शून्यमा झर्ला ।’

लमजुङदेखि रामेछापसम्म स्ट्रेट बनाएर परकम्प आइरहे पनि काठमाडौंभन्दा दक्षिणतिरको भागमा भूकम्पीय गतिविधि त्यति धेरै नदेखिएको केन्द्रको भनाइ छ । केन्द्रका अनुसार मकवानपुरदेखि सिन्धुलीसम्म यो ४ वर्षका बीचमा न्यून संख्यामा परकम्प आएका छन् । ‘चुरे र त्यसभन्दा तलतिर भूकम्पीय गतिविधि देखिन्न,’महानिर्देशक सापकोटाले भने ।

भूकम्पविद् कोइरालाका अनुसार पछिल्ला तीन वर्षको तथ्यांक केलाउँदा गोरखा भूकम्पको अन्त्य भएका सिन्धुपाल्चोक र दोलखामा बढी परकम्प गएको देखिन्छ । ‘सामान्यतया जहाँ भूकम्पको अन्त्य भएको हुन्छ, त्यहाँ शक्ति सञ्चित भएर बसेको हुन्छ,’ उनले भने, ‘परकम्पमार्फत सञ्चित शक्ति बाहिरिरहेको छ, अहिले भइरहेको त्यही हो, त्यो नयाँ भूकम्प नभर आफ्टरशक हो ।’

गोरखा भूकम्पले धाँजा बनाएको क्षेक्रमा यो त्रम नियमित चलिरहने उनी बताउँछन् । ‘समयअनुसार परकम्पको संख्या पनि घटदै जान्छ,’ कोइराला भन्छन्, ‘ठूला परकम्प पनि घटदै जान्छन्, विस्तारै भूकम्पीय गतिविधि कमजोर बन्दै जान्छ र २०७२ अघिको जस्तै सामान्य अवस्था सिर्जना हुन्छ ।’

केन्द्रले १.९ म्याग्निच्युडभन्दा माथिका परकम्प रेकर्ड गर्ने गरेको छ । गोरखा भूकम्पपछि ४५ हजार परकम्प १.९ देखि माथिका हुन् । ४५ हजारमध्ये धेरै परकम्प दोलखा र सिन्धुपाल्चोकलाई केन्दविन्दु बनाएर गएका छन् । तीबाहेक गोरखा, धादिङ, नुवाकोट, रसुवा, काभ्रेलगायतमा पनि धेरै परकम्प आएका छन् । गोरखा भूकम्पपछि दोलखा र सिन्धुपाल्चोकमा पनि शक्तिशाली परकम्प आएको थियो । गोरखा भूकम्पमा १४ जिल्ला बढी प्रभावित भएका थिए । रेकर्ड भएका परकम्प तिनै प्रभावित १४ र अन्य गरी १८ जिल्लाका हुन् ।

कतिपय विज्ञले काठमाडौं दक्षिणतिरको चुरे क्षेत्रमा भूकम्पीय शक्ति सञ्चित भएको दाबी गर्ने गरेका छन् । तर महानिर्देशक भने काठमाडौं दक्षिणतिर धेरै भूकम्पीय गतिविधि नदेखिएको बताउँछन् । केन्द्रले अहिलेसम्म रेकर्ड भएका परकम्पलाई विश्लेषण गरेर भूकम्पीय जोखिम भएका स्थानहरूको पहिचान गर्नेछ ।