भन्सार नाकामा सशस्त्र प्रहरीको सक्रियता, ९ महिनामा ५ करोड मूल्य बराबरको सामान बरामद

✍ नारायण पोख्रेल    1 year ago

वीरगन्ज–वीरगन्ज भन्सार कार्यालयको सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती सुरक्षा टोलीले चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा भारतबाट राजश्व छलेर ल्याइएका पाँच करोड बढी मूल्यको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।


सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती सुरक्षा टोलीका सशस्त्र प्रहरी नायव निरीक्षक प्रकाश सिंह ठकुरीका अनुसार, गत साउनदेखि चैत महिनासम्म नौ महिनाको अवधिमा भारतबाट राजश्व छलेर ल्याइएका पाँच करोड २६ लाख ९८ हजार दुइ सय ६४ रुपैयाका अवैध सामान बरामद गरेर सशस्त्र प्रहरीले भन्सार कार्यालयमा बुझाएको हो ।

जबकी गत आर्थिक वर्ष २०७४÷७५ मा भने १२ महनाको अवधीमा सशस्त्र प्रहरीले भारतबाट राजश्व छलेर ल्याइएका एक करोड ३८ लाख रुपैया मात्रको सामान बरामद गर्न सकेको थियो । चालु आर्थिक वर्षमा सशस्त्र प्रहरीले भन्सार नाकामा चेकजाचमा थप कडाइ गरेपछि यो नतिजा आएको हो । 

भन्सार नाकामा रहेको सशस्त्र प्रहरीले यो नौ महिनाकै अवधीमा ठुलो परिमाणमा प्रतिबन्धित लागु औषध, विदेशी मुद्रो र हतियार पनि बरामद गर्न सफल भएको जनाइएको छ ।