जनताको जलविद्युत् कार्यक्रम : रसुवागढी र साञ्जेनको साधारण शेयर खुला

✍ बिप्लब पोख्रेल    1 year ago

जनताको जलविद्युत कार्यक्रममा समावेश गरिएको १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको साञ्जेन र १४.८ मेगावाटको माथिल्लो साञ्जेन जलविद्युत आयोजनाको साधारण शेयर शुक्रबारबाट खुलेको छ । सभामुख कृष्णबहादुर महराले शुक्रबार ऊर्जा मन्त्रालयमा गरिएको विशेष कार्यक्रममा पहिलो सेयर आवेदन दिएर शेयर निष्कासन खुला गरिएको हो । सभामुख महराले रसुवागढीको एक लाख रुपैयाँको बराबरको १००० कित्ता शेयर आवेदन गरेका छन् । त्यस्तै, साञ्जेज जलविद्यु आयोजनामा ५० हजार रुपैयाँ बराबरको ५०० कित्ता शेयर आवेदन गरेका छन् ।


सभामुख महराकी धर्मपत्नी सीता महरा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, पूर्व सभामुख एवं ऊर्जामन्त्री पुनकी पत्नी ओनसरी घर्तीले समेत दुबै आयोजनामा हजार/हजार कित्ता शेयर आवदेन गरेका छन् ।

रसुवागढी जलविद्युत् कम्पनीले २ करोड ६३ हजार १५ लाख रुपैयाँ बराबरको १ करोड २ लाख ६३ हजार १ सय ५० कित्ता शेयर निस्कासन गरेको हो । यस मध्ये ९३ लाख ३९ हजार ४ सय ६७ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको छ । बाँकीमध्ये ४ लाख १० हजार ५ सय २६ कित्ता कम्पनीका कर्मचारीलाई, ५ लाख १३ हजार १ सय ५७ कित्ता सामुहिक लागनी कोषका सदस्यलाई छुट्याएको छ ।

त्यस्तै, साञ्जेन जलविद्युत् कम्पनीले कुल ५७.३ मेगावाटको दुई आयोजनाको ५४ करोड ७५ लाख रुपैयाँ बराबरका ५४ लाख ७५ हजार कित्ता शेयर निष्कासन गरेको छ । यस मध्ये ४८ लाख ८२ हजार २ सय ५० कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको छ । बाँकीमध्ये २ लाख ७३ हजार ७ सय ५० कित्ता सेयर सामुहिक लागनी कोषका सदस्यलाई र २ लाख १९ हजार कित्ता शेयर कम्पनीका कर्मचारीलाई छुट्याएको छ ।

चिलिमे जलविद्युत् कम्पनी लिमिटेडका दुई सहायक कम्पनीहरुले ५१ प्रतिशत सेयर स्वामित्वमा यी ३ आयोजना रसुवामा निर्माण गरिरहेका छन् ।

छिटोमा १० वैशाख र ढिलोमा ५ जेठसम्म शेयर आवेदन
सेयर आवेदन भर्ने मिति छिटोमा १० वैशाखसम्म र ढिलोमा ५ जेठसम्म रहने आयोजनाले जनाएका छन् । तीन ओटै आयोजनामा न्युनतम १० कित्तादेखि ५ हजार कित्तासम्म शेयर आवदेन गर्न सकिन्छ । रसुवागढी कम्पनलीले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल र सह–प्रबन्धकमा एनआइबीएल एसिई, ग्लोबल आइएमई र सनराइज क्यापिटललाई नियुक्त गरेको छ । त्यस्तै, साञ्जेनले सेयर निस्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सह बिक्री प्रबन्धकमा सनजाइज क्यापिटल र एनएमबी क्यापिटललाई तोकेको छ ।

जनताको जलविद्युत् कार्यक्रममा समावेश आयोजनामा सर्वसाधारणले आवेदन गर्ने शेयर कित्ताबाट हुन आउने कुल रकमको १० प्रतिशत लगानी मात्रै आवेदनसाथ भुक्तान गर्नु पर्ने व्यवस्था छ । आयोजनाले शेयर प्रमाण दिनेबेला भने बाँकी ९० प्रतिशत रकम भुक्तान गर्नुपर्ने व्यवस्था छ ।