स्याटलाइट प्रक्षेपणपछि प्रधानमन्त्री ओलीले भने, ‘नेपालको प्रतिष्ठा बढ्यो’

✍ बिप्लब पोख्रेल    1 year ago

काठमाडौँ । पहिलो पटक नेपालको आफ्नै स्याटलाइट (भू–उपग्रह) अन्तरिक्षमा पठाइएको छ । अमेरिकाको भर्जिनियास्थित प्रक्षेपण केन्द्रबाट आज बिहान २ः३१ बजे नेपालको भू–उपग्रह अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो ।


यो भू–उप्रगहलाई ‘नेपालीस्याट –१’ नाम दिइएको छ । यसको तौल झण्डै एक किलो रहेको छ । नेपाली भू–उपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तरिक्षमा पठाइएको हो ।

यो भू–उपग्रह केही समयसम्म अन्तरिक्षको बाहिरी भागमा रहने र त्यसपछि अन्तरिक्षमा घुम्न सुरु गर्ने बताइएको छ ।भू–उपग्रहले नेपालले आफ्नो भू–भागको मौसम, पानी, तापक्रम आदि सूचनाहरू प्राप्त गर्न सक्नेछ । नेपाली भू–उपग्रह निर्माणमा जापानस्थित नेपाली वैज्ञानिक आभाष मास्केलगायत सहभागी थिए ।

यसैबीच प्रधानमन्त्री केपी ओलीले नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको भन्दै नेपालको प्रतिष्ठा बढेको बताएका छन् । नेपालको आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाइएपछि उनले खुसी व्यक्त गर्दै नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको जनाएका हुन् ।

प्रधानमन्त्री ओलीले बिहीबार बिहान सामाजिक सञ्जाल ट्वीटमार्फत स्याटलाइट निर्माण र प्रक्षेपण गर्ने काममा संलग्न वैज्ञानिकहरुलाई बधाइ दिएका छन् ।