भर्नाकै दिन विद्यार्थीले पाठ्यपुस्तक पाउने

✍ बिप्लब पोख्रेल    1 year ago

शैक्षिक सत्र ०७६ का लागि प्युठानमा समयमै पाठ्यपुस्तक उपलब्ध भएका छन् । जनक शिक्षा सामग्री केन्द्रले समयमै वितरकलाई पाठ्यपुस्तक जिम्मा लगाएपछि जिल्लामा समयमै पाठ्यपुस्तक आइपुगेका हुन् ।


जिल्लाका सामुदायिक विद्यालयमा आवश्यक पर्ने पुस्तक आइपुगेकाले यो वर्ष भर्नाकै दिन विद्यार्थीले पुस्तक पाउने जिल्ला शिक्षा समन्वय इकाई प्रमुख शिवराज पण्डितले बताए । स्थानीय तहले जिल्लाका सबै विद्यालयका बैंक खातामा पाठ्यपुस्तक शीर्षकको रकम जम्मा गर्न उनले आग्रह गरे । उनले भने, ‘समयमा वितरण गर्ने वा नगर्ने भन्ने पुस्तक विक्रेता पसल तथा सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूमै भर पर्छ ।’

जिल्लामा आएका ९० प्रतिशत पाठ्यपुस्तक वितरण
शैक्षिक सत्रअगावै पाठ्यपुस्तक भित्रिएपछि वितरणको काम सुरु गरिएको छ । शनिबारसम्म ९० प्रतिशत पाठ्यपुस्तक वितरण भइसकेको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला शाखाले आवश्यक पर्ने नयाँ पुस्तक जिल्ला भित्र्याएर नौवटै स्थानीय तहको केन्द्रमा पु-याएर वितरणको काम सुरु भएको हो । विद्यालयहरू भर्नासँगै पुस्तक वितरण गर्ने तयारीमा छन् । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला शाखा प्युठानको पहलमा जिल्लामा पुस्तक वितरण भएको महासंघका सचिव रमेश गिरीले बताए । प्युठानको सबैभन्दा दुर्गम गौमुखी गाउँपालिकामा २६ चैतमा एकै दिन ४५ मध्ये ४२ विद्यालयमा शतप्रतिशत पाठ्य पुस्तक वितरण भएको थियो ।

समयमै पाठयपुस्तक आउँदा खुसी
यो वर्षका लागि कक्षा १ देखि १० सम्मका अंग्रेजी माध्यमका सबै पुस्तक आइपुगेको छ । गत शैक्षिक सत्रमा पाठ्यपुस्तक ढिलो प्राप्त हुँदा पठनपाठनमा प्रभाव परेको र यो वर्ष समयमै आएका कारण शिक्षकहरूसमेत खुसी छन् । समयमा पुस्तक नआउँदा सबैभन्दा बढी विद्यालयका प्रधानाध्यापकलाई समस्या हुने गरेको महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक खेतबहादुर रोकाले बताए । यो वर्ष शैक्षिक सत्रको सुरुवातमा नै आफूहरूले सबै विद्यार्थीलाई पुस्तक वितरण गर्न पाउने भएकोमा खुसी व्यस्त गरे । २ वैशाखबाट भर्ना अभियान सञ्चालन गरिने जिल्ला शिक्षा समन्वय इकाई प्रमुख शिवराज पण्डितले बताए ।