के हो ल्याप्रोस्कोपी सर्जरी ?

✍ बिप्लब पोख्रेल    2 years ago

पेटमा स–साना घाउ बनाइ फाइबर अप्टिक इन्डोस्कोप (दूरविन) का मद्दतले तल्लो पेटका भित्री अंगका समस्या हेर्ने विधिलाई ल्याप्रोस्कोपी भनिन्छ । स्त्री रोगसम्बन्धी ल्याप्रोस्कोपी सर्जरीको नेपालमा सुरुआत भएको छ । सर्वप्रथम यो प्रविधिको प्रयोग जर्मनीमा भएको थियो । त्यसपछि विश्वका धेरै देशमा प्र्रयोगमा आइसकेको छ । यद्यपि, नेपालका लागि भने यो नयाँ प्रविधि हो । पेट चिरेर गर्ने शल्यक्रियाभन्दा ल्याप्रोस्कोपी विधि सजिलो र भरपर्दो हो भन्ने विभिन्न अध्ययन–अनुसन्धानबाट सिद्ध भएको छ ।


यस्तो अवस्था भए शल्यक्रिया
पेटबाट बच्चा निकाल्नेबाहेक अन्य सबै रोगका शल्यक्रिया ल्याप्रोस्कोपी सर्जरीको माध्यमबाट गर्न सकिन्छ । 
पाठेघरमा ट्युमर पलाउँदा तथा एउटा निश्चित उमेरपछि हर्मोनको गडबडीले महिलाको पाठेघरबाट धेरै रगत बगेमा ।
डिम्बमा ट्युमर पलाएको, पाठेघरमा बच्चा नबसेर डिम्ब वा नलीमा बच्चा बसेको अवस्थामा ।
निःसन्तान, जीर्ण प्रकारका तल्लो पेट दुखाइ, तल्लो पेटमा मासु वा डल्लो पलाएको, महिनावारीमा तल्ला पेट दुख्ने समस्या, महिलाको स्थायी बन्ध्याकरण तथा पाठेघरमा हुनसक्ने विकृति पत्ता लगाउनेजस्ता स्त्री रोगसम्बन्धी स्वास्थ्य समस्या निदानमा ल्याप्रोस्कोपी प्रविधिद्वारा उपचार गर्न सकिन्छ ।
कसरी हुन्छ पाठेघरमा ट्युमर ?
महिलाहरूमा इस्ट्रोजोन र प्रोजेस्ट्रोन हार्मोन बढी मात्रामा उत्पादन भएमा पाठेघरमा ट्युमर हुने सम्भावना रहन्छ । ३५ देखि ४५ वर्ष उमेर समुहका महिलामा यस्तो समस्या देखिने गरेको छ ।
कस्ता महिलामा बढी सम्भावना ?
वंशानुगत : जस्तै, आमा, दिदी, बहिनीमा ट्युमर देखिएको छ भने अविवाहित तथा निःसन्तान महिलामा पनि पाठेघरका ट्युमर हुने सम्भावना बढी देखिन्छ । 
मोटोपना पनि यसको कारण हुनसक्छ । त्यस्तै, पाठेघरको ट्युमर हुँदा गर्भ रहन गएमा ट्युमर बढ्ने सम्भावना रहन्छ ।
यो विधि कति सुरक्षित ?
उपचारका लागि पछिल्लोपटक भित्रिएका प्रविधिमध्ये ल्याप्रोस्कोपी सर्जरी सबैभन्दा सुरक्षित र भरपर्दोमध्ये एक हो । उच्च गुणस्तरका क्यामराका सहायतामा    टिभीको दृश्यमा हेरेर गरिने शल्यक्रिया भएकाले पुरानो विधिबाट गरिनेभन्दा यो विधिबाट गरिने शल्यक्रिया विश्वसनीय छ ।
फाइदा
यो विधिबाट शल्यक्रिया गर्दा एक सेन्टिमिटर र दुई–तीनवटा आधा सेन्टिमिटरका प्वाल मात्र पार्नुपर्छ । जसले गर्दा बिरामीलाई दुखाइ कम हुने र रगत धेरै नजाने हुन्छ । त्यसैले रगत दिन पर्ने सम्भावना अत्यन्त न्यून हुने, घाउ सानो भएकाले चाडै सन्चो हुनुका साथै घाउ पाक्ने सम्भावना पनि कम हुन्छ । 
शल्यक्रिया गरेको २४ घन्टाभित्र बिरामी हिँडडुल गर्न सक्ने भएकाले अस्पतालबाट चाँडै डिस्चार्ज हुन्छ । यसर्थ, चाँडै नै आफ्नो दैनिक कार्यमा फर्कन सक्छ ।
घाउ सानो हुने भएकाले एन्टिवायोटिक र नदुख्ने औषधि पनि कम प्रयोग गर्न सकिन्छ । शल्यक्रिया गरिसकेपछि घाउको दाग चिरेभन्दा निकै कम देखिन्छ । 
यो विधि हेमोग्लोबिनका समस्या भएका बिरामीका लागि झनै उपयोगी छ । 
उपचार दौरान धेरै परामर्श गर्नुपर्ने भएकाले यो प्रविधिमा बिरामी र उनका परिवारसँग चिकित्सक टोलीको सम्बन्ध प्रगाढ बन्छ ।
 उपचार कार्य क्यामरा प्रोजेक्टरबाट बाहिर देखाउन मिल्ने हुनाले चिकित्सा विज्ञानका विद्यार्थीलाई शल्यक्रिया कक्षमा लगेर सिकाउनुपर्ने बाध्यता हुँदैन । त्यसैले, शल्यक्रिया कक्षमा अनावश्यक घुइँचो हुँदैन । यसर्थ, संक्रमणको सम्भावना न्यून हुनुका साथै बिरामीका आफन्तले पनि शल्यक्रिया प्रक्रियाको प्रत्यक्ष प्रसारण वा भिडियो रेकर्ड हेर्न पाउँछन् ।
 यसरी गरिन्छ शल्यक्रिया
ल्याप्रोस्कोपी सर्जरीलाई किहोल सर्जरी पनि भनिन्छ । यो प्रविधिमा दूरविन र औजारका माध्यमले रोगको पहिचान तथा उपचार गर्न सकिन्छ । यसका लागि पेट फुलाउन कार्बनडाइअक्साइड वा अन्य हावाको प्रयोग गरिन्छ भने उज्यालोका लागि प्रकाश पठाइन्छ । ग्यास, प्रकाश र दुरबिन पठाउन नाइटोनिर सानो प्वाल बनाइन्छ ।

समस्याग्रस्त भित्री अंगहरू हटाउने उपकरण र रक्तस्राव रोक्ने औषधि पठाउन पेटको तल्लो भागमा दुईतिर अन्य स–साना प्वाल बनाइन्छ । अप्रेशन गर्ने अंगमाथि एक सेन्टिमिटरको प्वाल पारेर क्यामरा छिराइन्छ । पेटभित्रका अंगको अप्रेशन गर्दा त्यहाँभित्र छिराइएका क्यामेरा घुमाएर सबै अंगको अवस्था हेरिन्छ । त्यसपछि अप्रेशन गर्ने अंगको माथि अरू आधा–आधा सेन्टिमिटरका दुई–दुईवटा प्वाल पारेर औजार छिराएर अप्रेसन गरिन्छ ।