‘विप्लवको उद्देश्य फेद न टुप्पाको, देश अघि बढ्यो कसैले भत्काउन सक्दैन’

✍ बिप्लब पोख्रेल    1 year ago

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल काँग्रेसले भनेजस्तो देश अधिनायकवादतर्फ अघि नबढेको र त्यसतर्फ जाने कुनै सम्भावना नरहेको दावी गरेका छन् ।काठमाडौमा आजबाट सुरु भएको राष्ट्रिय विकास परिषदको दुईदिने बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आधिनायकवादमा सरकार गयो भनेर आशंका फैलाउने काम भइरहेको भन्दै त्यस्तो हल्ला नफैलाउन चेतावनी समेत दिए । ‘म चुनौति दिन चाहान्छु, कसैले किस्तिमा हालेर ल्याएर दिएको होइन यो गणतन्त्र । सारै चर्को मुल्यमा बलिदान दिएका छौं । त्यसैले यसको रक्षा हामी गर्छौ’ प्रधानमन्त्री ओलीको भनाई छ । उनले यो कुरा थाहा हुँदाहँदै पनि जनतालाई तर्साउन झुठो खेती भइरहेको बताए । 


‘उहिले पनि अनेकथरीका हल्ला चलेका थिए । ६० बर्ष माथिकालाई गोली हान्छ कम्युनिष्टले भनेर हल्ला चलाएका हुन् । आज अधिनायकवादको हल्ला चलाइएको छ । तर त्यो भ्रम मात्र हो’ विकास र सम्बृद्धिको यात्रामा सवैलाई सरिक हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले बरु कुनै कुरा नमिले यहाँ मिलेन भने सुधार्न सकिने बताए । 

उनले राजनीतिक स्वतन्त्रतामा मात्रै नभई आर्थिक समाजिक र समतामुलक समाज अघि बढेको भन्दै तलमाथि कसैले गर्न नहुने बताए । उनले विप्लव नेतृत्वको माओवादीप्रति लक्षित गर्दै फेद न टुप्पाको उद्देश्य बोकेर कहीँ नपुगिने बताए । ‘फेद न टुप्पाको उदेश्य बोकेर हिँडेर गन्तव्यमा पुगिदैन’ प्रधानमन्त्रीको भनाई थियो । 

यो सरकार गफ गर्न नबनेको भन्दै काम गरेर देखाउने दाबी गरे । उनले मुलुकमा भोकमरीको अन्त्य गरेरै छाड्ने दाबी गरे । वर्तमान सरकारले जस्तो राम्रो काम अरु कुनै पनि सरकारले नगरेको दाबी गर्दै उनले सामाजिक सुरक्षा, रोजगारीको प्रत्याभूति जस्ता काम भएको दाबी गरे ।

उनले सरकार मात्र क्रियाशील नभई नीजि क्षेत्र समेत क्रियाशील रहेको नीतिहरु बनेको दाबी गरे ।  उनले भने, ‘अब देश अघि बढ्यो, कसैले भत्काउन सक्दैन ।’