इन्टरनेट छिटो चल्ने बनाउन के गर्ने ?

✍ बिप्लब पोख्रेल    1 year ago

अहिलेको २१औँ शताब्दी सूचना प्रविधिको युग हो । अब त इन्टरनेटविनाको जीवन परिकल्पनासमेत गर्न सकिँदैन । हाम्रो दैनिक जीवन, व्यावसायिक काम र मनोरञ्जनका लागि इन्टरनेटको प्रयोग अधिक हुन्छ । तर, इन्टरनेट सुस्त भएकै कारण वाक्क हुनुपर्नेे समस्या हामी सबैले भोगेको हुनुपर्छ । खासगरी, कमजोर पूर्वाधार भएको हाम्रो जस्तो मुलुकमा इन्टरनेट स्लो हुने समस्या बढी हुन्छ । यद्यपि, यी केही टिप्स प्रयोग गर्न सकेमा हाम्रो इन्टरनेटको गति द्रुत हुन्छ ।


आफूले ब्राउज गर्ने कन्टेन्टअनुसार प्याकेज छनोट गर्नुपर्छ । तीन सय ५६ केबिपिएसले चाहेअनुसार स्काइपमा भिडियो च्याट गर्न गाह्रो हुन्छ । यसलाई सात सय ६८ केबिपिएस क्षमता चाहिन्छ । त्यस्तै, साधारण युट्युब भिडियो एक एमबिपिएसले पुग्छ । तर, हाई डेफिनेसनको भिडियो हेर्न कम्तीमा पाँच एमबिपिएसको इन्टरनेट चाहिन्छ ।

सस्क्राइब गरेको प्याकेज सर्भिस प्रोभाइडरले सम्झौता गरेअनुसार छ÷छैन परीक्षण गर्नुपर्छ । यो थाहा पाउन इन्टरनेटमा विभिन्न टुल पाइन्छन् । त्यसलाई साधारण आधार मान्न सकिन्छ ।

इन्टरनेटको गति डिभाइसमा पनि निर्भर हुन्छ । त्यसैले यसलाई गति दिन गुणस्तरीय, क्षमतायुक्त र आवश्यकताअनुसारको डिभाइस प्रयोग गर्नुपर्छ । 

वाइफाईमार्फत नेट चलाउँदा डिभाइस राउटर कनेक्ट हुने स्थानमा हुनुपर्छ । सो राउटरमा एकभन्दा बढी डिभाइस कनेक्ट भएमा पनि नेटको स्पिड स्लो हुन्छ । 

राउटरको पासवर्डमा साधारण शब्द राख्दा ह्याक हुने सम्भावना हुन्छ । न्युमेरिक, अल्फाबेटिकल र सिम्बोल युज गरेर पासवर्ड बनाई कतै टिपेर राख्नुपर्छ । सुरक्षित राख्न समय–समयमा पासवर्ड चेन्ज गर्नुपर्छ ।