जी–सिने अवार्ड : रणवीर–आलिया उत्कृष्ट

✍ बिप्लब पोख्रेल    2 years ago

काठमाडौँ — साताअघि मात्रै सम्पन्न फिल्मफेयर अवार्डकै नतिजाको पुनरावृत्ति गर्दै आइतबार जी–सिने अवार्डमा पनि उत्कृष्ट अभिनेता–अभिनेत्रीमा रणवीर कपुर र आलिया भट्ट नै छानिएका छन् ।


रणवीरले ‘सन्जू’ बाट अवार्ड जित्दा आलियाले भने ‘राजी’ बाट पाएकी हुन् । त्यसो त उत्कृष्ट अभिनेत्रीका लागि आलियासँगै ‘पद्मावत’ बाट दीपिका पादुकोणलाई पनि संयुक्त रूपमा उक्त अवार्ड प्रदान गरिएको थियो । फिल्मफेयरमा दीपिका हात खाली भएपछि उनका फ्यानहरू आलियासँग खनिएका थिए भने दीपिकाले फ्यानलाई निराश पारेकोमा माफी मागेकी थिइन् । यसपटक ‘पद्मावत’ बाट दीपिका मात्रै भाग्यमानी भइनन्, बरु यसै फिल्मबाट निर्देशक सञ्जयलीला भन्साली, अभिनेता रनवीर सिंहले भ्युअर्स च्वाइस जिते भने कोरियोग्राफीको अवार्ड पनि ‘पद्मावत’ ले नै जित्यो ।

त्यसैगरी सहअभिनेतातर्फ ‘सन्जू’ बाटै बिक्की कौशल र सहअभिनेत्रीमा ‘जिरो’ की कट्रिना कैफ उत्कृष्ट घोषित भएका थिए । पछिल्लो समय लगातार सफल फिल्म दिएका आयुष्मान खुरानालाई जी–सिने अवार्डको यस वर्षको एक्स्ट्राअर्डिनरी पर्फमर अवार्डको ट्रफी दिइयो ।

यस वर्ष उत्कृष्ट डेब्यु गर्ने अभिनेता–अभिनेत्रीमा जी–सिनेले ‘धडक’ जोडी इसान्त खत्तर र जाहन्वी कपुरलाई छानेको छ । तब्बुले ‘अन्धाधुन’ बाट खलचरित्रमा अवार्ड थाप्दा कमेडीमा ‘सोनु के टिटू की स्विटी’ बाट कार्तिक आर्यनले अवार्ड पाएका थिए । नवनिर्देशकको जी–सिने पनि फिल्मफेयरकै जस्तै ‘स्त्री’ बाट अमर कौशिक नै छानिए ।




उडान संख्या थपियो ✍ बिप्लब पोख्रेल 
प्रदेश सरकारहरू निरीह ✍ बिप्लब पोख्रेल