आज पनि हावाहुरी र वर्षाको सम्भावना

✍ बिप्लब पोख्रेल    1 year ago

काठमाडौँ — जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधवार मुलुकका विभिन्न भू–भागका थोरै स्थानमा मेघ गर्जनसहित हावाहुरी र वर्षा हुने अनुमान गरेको छ । हावाहुरीको क्षमताबारे भने महाशाखाले प्रष्ट्याएको छैन । महाशाखाकी मौसमविद् शान्ति कँडेलले हावाहुरीको गति र क्षमता भने भन्न नसकिने बताइन् ।


प्रि मनसुनको समयमा मेघगर्जन र गड्याङगुडुङसहित चट्याङ र वर्षासँगै हावासमेत चल्ने भएकाले सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले मात्र हावाहुरी शब्द बुलेटिनमा समेट्न सुरु गरिएको महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताइन् । ‘प्रि मनसुनको अवधिमा विभिन्न गतिविधि मध्ये हावाहुरी पनि एक हो’ उनले भनिन्, ‘आइतबारको घटनाले सर्वसाधारणलाई झक्झक्याएकाले सचेत गराउन मात्र खोजिएको हो ।’महाशाखाले मङ्गलवार बेलुकी तीन दिनको मौसमी अवस्था प्रक्षेपण गर्दै बुधवार दिउँसो पूर्वी भूभागका थोरै स्थान, मध्य र पश्चिमका एक–दुई स्थानमा हावाहुरीसहित वर्षा हुने उल्लेख गरेको हो । यसअघि महाशाखाले आफ्नो बुलेटिनमा हावाहुरीबारे उल्लेख नै गर्थेन ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सुरजकुमार वैद्यका अनुसार हावाहुरीको गति, क्षमता र सम्भावित स्थानको पहिचान गर्ने किसिमको पूर्वानुमान गर्न भने अहिलेको उपकरण र प्रविधिले असम्भव छ ।

विभागले आइतबारको बारा र पर्सामा आएको शक्तिशाली हावाहुरीपछि ‘ठाउँ तोकेर पूर्वानुमान गर्ने प्रविधि नभएका कारण भीषण हावाहुरी आएको’ बताएको थियो । स–साना क्षेत्रमा छिनछिनमा विकसित हुने मौसमी अवस्था प्रक्षेपण गर्न उल्लेख्य मात्रामा राडार जडानका साथै बेलुन उडाएर दक्ष जनशक्तिमार्फत पर्याप्त तथ्याङ्क सङ्कलन गर्नुपर्ने हुन्छ ।

महाशाखाका अनुसार मङ्गलवार राति पनि पूर्वी भागमा मेघगर्जनसहित वर्षा हुनेछ । बुधवार बिहान देशभरको वायुमण्डल सफा हुने भए पनि अपरान्ह पछि धेरै भागको वायुमण्डलमा आंशिक बदली हुने देखिन्छ । ‘बुधवार राति पनि पहाडी भूभागहरूका एक–दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा हुनेछ’, महाशाखाले भनेको छ ।

बिहीबार पूर्वी र मध्यभागसहित पश्चिम पहाडी भू–भागहरूमा आंशिक बदली हुने र केही भागमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।