मेयरको तलबभत्ता स्वास्थ्य र शिक्षामा

✍ बिप्लब पोख्रेल    2 years ago

अर्घाखाँची — शीतगंगा नगरपालिका प्रमुख सूर्यप्रसाद अधिकारीले आफ्नो मासिक तलब–भत्ता शिक्षा, स्वास्थ्य र धार्मिक पर्यटन क्षेत्रमा खर्च गर्ने बताएका छन्  । प्रदेश सरकारले नगर प्रमुखको मासिक तलब ३५ हजार रुपैयाँ तोकेको छ  ।


अघिल्लो वर्षको तलब–भत्ता धार्मिक पर्यटक भित्र्याउने चर्चित सुपादेउराली, विन्दवासिनी, अमरेश्वरलगायतका मन्दिरको मर्मत गर्न खर्च गरेको उनले बताए । ‘मन्दिर मर्मत र आवश्यक सामग्री खरिद गर्दा मेरो पारिश्रमिक भन्दा झन्डै दोब्बर खर्च भएको छ,’ उनले भने, ‘तराईसँग सीमा जोडिएको नगर भएकाले यहाँ घुम्न आउने पर्यटकले मन्दिरको दर्शन गर्छन् । पर्यटक भित्र्याउन मेरो तलब मन्दिरमा खर्च गरेको हुँ ।’

पर्यटक भित्र्याएर समृद्ध नगर बनाउने र नगरवासीले पर्यटकबाट लाभ लिऊन् भन्ने आफ्नो योजना भएको प्रमुख अधिकारीले बताए । अबको आफ्नो तलब भत्ता शिक्षा र स्वास्थ्यमा खर्च गर्ने उनले बताए । भौगोलिक हिसाबले जटिल भएकाले समयमै बिरामीले उपचार गर्न पाएका छैनन् । स्कुल टाढा छन् । ‘मैले कार्यविधि बनाएरै अब शिक्षा र स्वास्थ्यमा खर्च गर्छु,’ उनले भने, ‘जो पैसा नभएर बेडमै छट्पटिएका छन्, अस्पतालसम्म जाने र उपचार गर्ने खर्च छैन, उनीहरूका लागि खर्च गर्छु । अस्पताल लैजान्छु र उपचार गराएर घर पठाउँछु ।’