लगानी सम्मेलन : पहिलो दिनका सात छलफल

✍ बिप्लब पोख्रेल    1 year ago

काठमाडौँ — शुक्रबार सुरु नेपाल लगानी सम्मेलन–२०१९ को पहिलो दिन व्यावसायिक सम्भावना र अवसरका सात विषयमा छलफल भए । स्वदेशी तथा विदेशी वक्ताहरूले नेपालमा लगानी बढाउने विषयमा बहस गरे ।


‘इन्फरमेसन एन्ड कम्युनिकेसन टेक्नोलजी : एड्भान्सिङ टुवार्डस डिजिटल इकोनोमी’ शीर्षकको छलफल सत्रमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले डिजिटल नेपाल निर्माणलाई सरकारले महत्त्व दिइरहेको बताए ।उनले डिजिटल इन्नोभेसन,ई–लर्निङ, ई–कमर्स, ई–गभर्नेन्सलगायत क्षेत्रमा लगानीका अवसर रहेको जानकारी दिए । ‘डिजिटल अर्थव्यवस्था निर्माण गर्न ठूलो वित्तीय आवश्यकता पर्छ,’ उनले भने, ‘पछिल्लो पाँच वर्षमा हामीले आफ्ना तर्फबाट थुप्रै सुधारका काम गरेका छौं ।’

विदेशी मुद्रामा लगानी गर्ने अनुमति नहुनु र यहाँको डेटा बाहिर लैजान नपाइने भएकाले विदेशी कम्पनीलाई डिजिटल क्षेत्रमा काम गर्न अप्ठ्यारो रहेको अमेजन इन्टरनेट सर्भिसेज प्रालिका क्षेत्रीय इन्कुबेसन प्रमुख चन्द्र बालानीले बताए । उनले नेपालमा डेटा राख्नु चुनौतीपूर्ण रहेको अभिव्यक्ति दिए ।

‘नेपाल प्राकृतिक प्रकोपले जोखिमयुक्त छ,’ उनले भने, ‘यहाँ डेटा राख्न हामीलाई डर छ । नेपाल सरकारले डेटा बाहिर लग्न नदिनु भनेको नवपर्वतक कम्पनीलाई प्रतिबन्ध गर्नु हो ।’ यसको सट्टा सरकारले डेटाको मूल प्रति यहीँ राखेर दोस्रो प्रति बाहिर लग्न दिए हुने उनको धारणा छ । ‘जसले गर्दा डेटा दुरुपयोग हुन पाउँदैन,’ उनले भने ।

डिजिटल अर्थतन्त्रमा ई–पेमेन्टका लागि समस्या रहेको भन्दै सरकारले यसका लागि गेटवे निर्माण गरिरहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वीरेन्द्रकुमार मिश्रले बताए । छलफलमा बंगलादेश, नेपाल, भुटान र लावसका लागि माइक्रोसफ्ट एसिया यासिफिककी प्रबन्ध निर्देशक सोनिया बासिर कविर र जापानको सुमितोमो कर्पोरेसनका मसहिरो मियासिताले पनि भाग लिएका थिए । सोनियाले बंगलादेशमा सरकारले नवउद्यमीलाई ६० देखि ८० प्रतिशत लगानी गरिदिने र निजी हाई–टेक कम्पनीले समेत सरकारको काम हातेमालो गर्दै आएको बताइन् । जापानका मियासिताले पूर्वाधार विकासले मात्रै डिजिटल व्यापर फस्टाउने धारणा राखे ।

सूचना प्रविधि क्षेत्रमा नेपाली महिलाको सहभागिता बढाउन के गर्नुपर्ला भन्ने प्रश्नमा सोनियाले भनिन्, ‘उनीहरूलाई उत्प्रेरणा र अवसर दिनुपर्छ । महिला स्वयंले पनि काम गर्ने इच्छा देखाउनुपर्छ ।’ यही प्रश्नमा अमेजनका बनालीले महिलालाई शिक्षित बनाएर तालिम दिए तिनले घरमै बसेर क्लाउडमा काम गर्न सक्ने बताए । युवाहरूले जागिर खोज्दै हिँड्नुको सट्टा जागिरको अवसर निर्माण गर्नुपर्ने बनालीको भनाइ थियो । जापानका मियासितोले भने नेपालले डिजिटल प्रविधिको सहयोगमा विकासको छलाङ मार्न सक्ने अझिव्यक्ति दिए ।

‘इन्डस्ट्री : बिल्डिङ इन्डस्ट्रियल बेस एन्ड त्रिएटिङ इम्प्लोएमेन्ट अपर्चुनिटिज’ सत्रमा उद्योग सचिव यमकुमारी खतिवडाले नेपालमा लगानीका लागि केही सकारात्मक पक्ष रहेको भनाइ राखिन् ।

‘हामीले तीन दर्जन कानुनी तथा संरचनागत सुधार गरेका छौं,’ उनले भनिन्, ‘अनलाइन रजिस्ट्रेसन एन्ड पेमेन्ट सिस्टम सुरु गरेका छौं । यहाँ थोरै प्रतिस्पर्धी छन् । चिनियाँ र भारतीय बजारको पहुँच छ ।’

औद्योगिक विकास र रोजगार अवसरका लागि नेपालले के गर्दै आएको छ र थप के गर्न सक्छ भन्नेबारे सूर्य नेपालका अभिमन्यु पोदार र गोल्छा अर्गनाइजेसनका शेखर गोल्छाले धारणा राखेका थिए । चीनको हुआसिन सिमेन्टका उपाध्यक्ष सु गाङले नेपालमा आफूहरूको सिमेन्टको माग उच्च रहेको बताए । उद्योगमन्त्री मातृकाप्रसाद यादवले भने देशको कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान बढाउनु आफूहरूको लक्ष्य भएकोधारणा राखे ।

‘टुरिज्म ः क्रिएटिङ डेस्टिनेसन्स फर रिक्रिएसन एन्ड पिल्ग्रिमेज’ सत्रको छलफलमा सिल्भर हेरिटेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरले नेपालको आतिथ्यता र सत्कार मन परेर यहाँ लगानी गरेको बताए । टाइगर प्यालेस रिसोर्ट र द मिलिनियर्स क्लब एन्ड क्यासिनो सञ्चालन गर्दै आएको सिल्भर स्टोनले अबको एक/दुई वर्षभित्र थप लगानी गरेर होटल विस्तार गर्ने बोल्सोभरको भनाइ थियो । ‘नाकाबन्दीका बेला इन्धन अभाव भएर हामीलाई गाह्रो परेको थियो,’ उनले भने, ‘विदेशी रकम ल्याउन बैंक अनुमति नपाउँदा समस्या हुन्थ्यो । अब कानुन संशोधनपछि सहज हुने अपेक्षा गरेका छौं ।’

पयर्टन क्षेत्रको स्थिति र सम्भावनाबारे राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँल र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले जानकारी दिएका थिए । ‘पर्यटन क्षेत्रमा लगानी गर्नेलाई हामी पूर्ण सहयोग गर्नेछौं,’ फुयाँलले भने, ‘आर्थिक विकासका लागि नेपाल सकारले पर्यटनलाई महत्त्वपूर्ण क्षेत्र मानेको छ ।’

मकाउ विश्वविद्यालयका इन्टरनेसनल इन्टिग्रेटेड रिसोर्ट म्यानेजमेन्टका प्रोफेसर ग्लेन म्याकट्नीले नेपाल प्राकृतिक रूपमा सुन्दर रहेकाले यसलाई कृत्रिम नबनाउन सल्लाह दिए ।

वक्ताहरूले पूर्वाधार विकासमा विशेष जोड दिन नेपाल सरकारलाई सुझाव दिएका थिए । दक्षिण एसियाली मुलुकले कुल गार्हस्थ उत्पादनको ३.३ प्रतिशत मात्रै पूर्वाधार विकासमा लगानी गर्दै आएको र यसको सट्टा कम्तीमा ७ प्रतिशत लगानी गर्नु आवश्यक रहेको मेनहार्डट ग्रुपका कार्यकारी अध्यक्ष साहजाद नसिमको भनाइ थियो । शुक्रबार साँझ उद्यम क्षेत्रका महिला रयुवाका विषयमा पनि छलफल कार्यक्रम थियो ।