इन्द्रजात्रामा पलको ‘हृदय भरी’ आउने

✍ बिप्लब पोख्रेल    2 years ago

आउँदो जेठ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘वीरविक्रम २’ को पखाईमा रहेका अभिनेता पल शाहले शुक्रवारबाट नयाँ फिल्म ‘हृदय भरी’ को सुटिङ सेट ज्वाइन गरेका छन् । शुक्रवारबाट औपचारिक रुपमा छायांकन सुरु भएको यस फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ । वितरक गोपालकाजी कायस्थले फिल्म अर्को वर्षको भदौ २७ मा आउने जानकारी दिए । 
 


यो मितिमा यसअघि नै अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘निरफूल’ आउने तय भइसकेको छ । यसकारण ‘हृदय भरी’ ले सोलो रिलिज भने पाउने छैन । फिल्मले लक गरेको उक्त डेटमा इन्द्रजात्राको सार्वजनिक विदा परेको छ । यस फिल्ममा पलले एक पोल्ट्रिफार्म सञ्चालन गर्ने युवकको भूमिका निभाउने छन् । ‘हृदय भरी’ मा उनले करीब २० लाख पारिश्रमिक बुझेका छन् । 
 
सुरज सुब्बा ‘नाल्बो’ को एक्सन-कट रहने फिल्ममा पलले पहिलो पटक फ्रेस अनुहारसँग स्क्रिन साझेदारी गर्दैछन् । यो फिल्मबाट श्रद्धा क्षेत्रीले डेब्यु गर्दैछिन् । भारतको कोलकत्तामा बसोबास गर्दै आएकी श्रद्धाले त्यहाँ मोडलिङ क्षेत्रमा राम्रो नाम कमाएकी छन् । पलको अपोजिटमा अभिनेत्री रेखा लिम्बु पनि देखिनेछिन् । फिल्ममा सलोन बस्नेतको पनि प्रमुख भूमिका रहनेछ । 
 
नीर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुवँर, निर्मल शर्मा, मनोज केसी, कविता रेग्मीलगायतका कलाकारहरुको पनि अभिनय रहने फिल्मलाई निकेश लिम्बु, चन्दन शाह तथा दीपेन्द्र राईले निर्माण गर्दैछन् । फिल्ममा सौरभ बिश्वास र रुचि बिश्वास सह-निर्माताको रुपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन् । फिल्ममा मानकृष्ण महर्जनको छायांकन रहनेछ ।