सय दिनपछि सम्पर्कमा आए वडाध्यक्ष

✍ नारायण पोख्रेल    1 year ago

बुटवल– गत तीन महिना अघिदेखि बेपत्ता भएका अर्घाखाँचीका एक वडाध्यक्ष परिवारको सम्पर्कमा आएका छन् । मालारानी गाउँपालिका वडा नम्वर २ डाँडाकटेरीका वडाध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद) शुक्रबार आफ्ना दाजु जीवलाल भुसालको टेलिफोन सम्पर्कमा आएका हुन् ।


‘पहिला भाई विनोदका जेठानले नारायणघाटबाट ज्वाई भारतमा सकुशल रहेको बताएको र पछि आफुसँग समेत कुराकानी भई आफु सकुशल रहेको बतायो’ दाजु भुसालले रातोपाटीलाई भने । वडाध्यक्ष भुसाल पुस २ गते विहान  मोटरसाईकल सर्भिसिङ्ग  गर्नु जान्छु भन्दै सन्धिखर्क पुगेका थिए ।

त्यहाँबाट बस चढेर गोरुसिङ्गेसम्म पुगेको जानकारी परिवारले पाएका थिए । उनी बुटवलको अस्पताल लाईनमा बसेको समेत केही छिमेकीले देखेका थिए । त्यसपछि उनी एक्कासि बेपत्ता भएपछि सर्वत्र कौतुहलको विषय बनेको थियो । उनी शुक्रबार सय दिनपछि परिवारको सम्पर्कमा आएका हुन् ।

‘टेलिफोनमा उसको आवाज भने केही अस्वस्थ्य हो कि भन्ने जस्तो लाग्थ्यो’ दाजु भुसालले भने । ‘छिट्टै घर आउँछु नआत्तिनु भन्नु भएकोले परिवारमा मात्र नभई यस भेगमै खुशीयाली छाएको छ’ उनले भने ।  वडाध्यक्ष बेपत्ता भएको पछिल्लो समाचार रातोपाटीले चैत्र ९ गते पनि फ्लोअप न्युजको रुपमा प्रकाशित गरेको थियो ।